ad ad

राजनीति


माओवादीलाई गोकुल बास्कोटाको प्रश्न : ४ वर्षीया काजोल खातुनलाई कसले मार्‍यो, गुरिल्ला कि जल्लादले?

माओवादीलाई गोकुल बास्कोटाको प्रश्न : ४ वर्षीया काजोल खातुनलाई कसले मार्‍यो, गुरिल्ला कि जल्लादले?

फाइल तस्बिर


नेपालखबर
जेठ ९, २०८० मंगलबार १२:४०, काठमाडौँ

नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले प्रतिपक्षले संसदमा उठाएका कुरामा सत्तारुढ नेकपा माओवादी केन्द्र जाइलाग्न खोजेको भन्दै प्रतिवाद गरेका छन्।

गत शुक्रबार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले शान्ति प्रक्रिया अझै पनि नटुंगिएको विषयमा उनले माओवादीलाई प्रश्न उठाए। 

‘अहिले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देखाएर आफू जिम्मेवारीबाट पन्छिने काम हुँदैछ। त्यसका लागि सत्ता पक्षलाई बधाई छ’, उनले भने, ‘३१ महिनासम्म माओवादीले सरकारको नेतृत्व गर्यो। बाबुरामदेखि पुष्पकमल दाहाल प्रचण्डसम्मलाई कसले रोक्यो शान्ति प्रक्रिया टुंग्याउन? कसले बर्लिन पर्खाल हाल्यो, को ग्रेट वाल बनेर तेर्सियो यो प्रक्रिया समाधान गर्न? सल्लाह र सुझाव राख्न खोज्दा उल्टै हामीलाई खेद्ने?’
 
प्रचण्डले अझै पनि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नाम लिइरहेको भन्दै त्यो एक्लो मुरली धुन नबजाउन आग्रह गरे।

‘स्वर्गीय गिरिजाप्रसादलाई देखाएर एक्लो संवादको धुन बजाएर, मुरली धुन बजाएर के पाउनु हुन्छ? हामीलाई थाहा छैन कांग्रेसका नेताहरुले यसको जवाफ दिनुपर्‍यो’, उनले अगाडि भने।

बास्कोटाले शान्ति प्रक्रिया समाधान गर्ने पक्षमा आफूहरु पनि रहेको बताए। ‘हामी पनि यो समस्याको समाधान चाहन्छौँ, ४ वर्षीया काजोल खातुनलाई कसले मार्यो? जल्लाद कि गुरिल्लाले जवाफ चाहिँदैन?’, उनले सोधे, ‘अर्जुन लामा सहिदको कित्तामा पर्दा मुक्तिनाथ अधिकारी कहाँ छन्?’

बास्कोटाले स्थानीय तह निर्वाचनमा गठबन्धनले महिलालाई रोक्ने काम गरेको पनि बताए। ‘गठबन्धनका नाममा महिलालाई रोकियो। त्यसरी नेतृत्व स्थापित हुन्छ?’, उनले भने, ‘३३ प्रतिशत महिलालाई डाइरेक्ट निर्वाचित गराउन तयार हो सत्ता पक्ष?’
  
प्रतिपक्षले नीति तथा कार्यक्रममा सुझाव दिँदा सत्ता पक्ष प्रतिवादमा उत्रिएर उल्टो बाटो समातेर हिँडेको उनले बताएका छन्। 

‘यो नीति तथा कार्यक्रम कथित जनयुद्धको राजनीतिको फ्युजनले कन्फ्युजनमा परेको, हात्तीको कान छामे जस्तो, मनचिन्ते दस्तावेज हो। यस्तो दस्तावेज ल्याउने अनि धारे हात हामीलाई लगाउने?', उनले भने। 

बास्कोटाले सत्ता गठबन्धनले जिम्मा लिएको ताला चावीको टुंगो नभएको भन्दै सुझाव दिएको भरमा प्रतिपक्षमाथि खनिने काम भएको टिप्पणी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .