वरिष्ठ पत्रकार भैरव रिसालले आफूलाई भेट्न निवासमा आइपुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पुरानै झलनाथ हुन आग्रह गरेका छन्।
अनामनगरस्थित आफ्नो निवासमा स्वास्थ्य अवस्था बुझ्न तथा भेटघाट गर्न आएका एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई रिसालले पुरानै झलनाथ बनेर कम्युनिस्टहरूलाई एकताबद्ध गर्न अनुरोध गरेका हुन्।
रिसालले भने, ‘तपाईं पहिलेकै झलनाथजस्तो भएर संकटमा पुगेको कम्युनिस्ट आन्दोलनलाई फेरि संगठित गर्नूस्।’
कम्युनिस्टहरू कमजोर हुँदा देशविरुद्ध विदेशीहरुले आँखा गाड्ने स्थिति भएको र श्रमजीवी जनतामा निराशा बढेको रिसालले बताए।
उनले भने, ‘पुरानो पुस्ता सबैले कमजोरी सच्याएर, इगो भुलेर नयाँ शिराबाट सोचेर देश र कम्युनिस्ट आन्दोलनलाई केन्द्रमा राखेर अघि बढ्नूस्।’
नेता खनालले पनि देशभक्त तथा कम्युनिस्ट शक्ति एकताबद्ध भई नयाँ रूपमा अघि बढ्नुपर्ने आवश्यकता आफूले पनि महसुस गरिरहेको बताए।
नेता खनाल र पत्रकार रिसालबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो।
भेटका अवसरमा ०१० सालको स्थानीय निर्वाचन, २०१५ सालको आम निर्वाचन, कम्युनिस्ट पार्टीको सुरुवाती दिन, पञ्चायत कालको कठिन संघर्ष, झलनाथ नेतृत्वको मालेकालीन कम्युनिस्ट अभियानलगायत विषयमा संवाद भएको थियो।
नेता खनाल पूर्वएमाले नेता हुन्। सर्वाेच्च अदालतको फैसलाले नेकपा भंग भएपछि अस्तित्वमा आएको नेकपा एमालेबाट माधव नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन्।
Shares
प्रतिक्रिया