राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गरेका छन्। बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने उनको भनाइ थियो।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे एउटा राम्रो परम्पराको सुरुवात पनि हुने र संसदको पनि गरिमा बढ्ने बताए।
‘आफ्नो क्षेत्रमा त गर्नै प¥यो भनेर भन्नु भएको छ। राख्नु भएकै छ अबण्डामा तपाईहरुले पैसा। केही दिन पछि रकमान्तर गर्नु हुन्छ। निर्णयबाट खर्च गर्नु हुन्छ। अहिले देखिने गरी नै छ। नदेखिने गरी होइन। त्यसकारण अहिले म भन्छु–यो सच्याउनुस्,’ उनले भने।
साथै, उनले विगतदेखिन नै सत्तामा हुनेहरूले आफ्नो निर्वाचन क्षेत्रमा बजेट धेरै हाल्ने गरेको उनले बताए।
‘यसपाली बजेट परेन भनेर धेरै गुनासो छैन। भनिनै सक्नु भएको छ मन्त्रीले। अलिकति नदेखिने गरी आफ्नोमा बेसी हाल्ने नै हो। आफ्नो सरकार भएको बेला आफ्नो ठाउँमा हाल्नेनै हो भन्या छ। त्यो प्रवृत्ति विगतदेखि नै चलेर आएको छ,’ उनले भने।
अध्यक्ष लिङदेनले बजेटमा सत्तापक्ष भित्र रुवाबासीको अवस्था रहेको देखिनु बिडम्बनापूर्ण रहेको समेत बताए।
‘बजेट बनाउने क्रममा जुन प्रवृत्ति विकसित भएर गइराखेको छ। त्यसमा खास गरेर सत्तापक्षले हामीले बारम्बार भ्रष्टाचारको विरोध गर्दा, काम भएन भनेर भन्दा, पहिलेको भन्दै काम कम भयो भन्दा पहिलेको भन्दा भ्रष्टाचार कम भयो, पहिलेको भन्दा बढि बाटो बन्यो भनेर साथीहरुले जो भनिराख्नु भएको छ,’ उनले अघि भने, ‘त्यो भए अब हामी पछाडि फर्कने? भन्ने जस्तो कुरा गरिराख्नु भएको छ। तर मैले के भन्छु भने जुन प्रवृत्ति विकसित भईराखेको छ। त्यसले तपाईहरुले भनेको व्यवस्थालाई नै कमजोर बनाउँछ।’
अध्यक्ष लिङदेनले सत्तारुढ दलहरुले लोभ गरेर आफ््नो पक्षमा पारेको बजेट खर्च हुने अवस्था नरहेको जिकीर समेत गरे।
‘हारजितको कुरा होइन। अघिल्लो पटक पनि मैले भनेको छु–यो बजेटमा संशोधन गरियो भने यसले नोक्सान हुँदैन। सत्तारुढ दलका नेताहरु बसेर बजेटमा संशोधन गर्ने निर्णय गर्नु भयो भन्दा, संसदको सुझाव अनुसार हामीले बजेटमा परिमार्जन ग¥यौ भन्दाखेरी कसैले हारेको हुँदैन। एउटा राम्रो परम्पराको सुरुवात पनि हुन्छ,’ उनले भने, ‘संसदको गरिमा पनि रहन्छ। नत्र भए यो निरन्तर रुपमा चल्छ। तपाईहरुले के–के व्यवस्था भन्नु भएको छ। त्यो व्यवस्थालाई असफल पार्न यसैले मद्दत गर्दछ। जबसम्म सच्चिनु हुन्न, सच्चिन तयार हुनुहुन्न। हाम्रो एउटा बाटो नबन्ला । १÷२ साल ढिलो होला। पाएको बेला बनाउँला।’
Shares
प्रतिक्रिया