ad ad

राजनीति


७० वर्षे हटेपछि ओलीलाई भेट्न च्यासल पुगे वामदेव गौतम

७० वर्षे हटेपछि ओलीलाई भेट्न च्यासल पुगे वामदेव गौतम

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार १४:३५, काठमाडौँ

नेकपा एमालेले ७० वर्षे उमेर हदको प्रावधान हटाएपछि नेता वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेका छन्।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चा बनाउने तयारी भइरहेका बेला एमालेमा फर्किन इच्छुक गौतमले अहिले ओलीसँग वार्ता गरिरहेका छन्। 

नेकपा एकता अभियानका संयोजक गौतमले यसअघि गत जेठ २४ गते शर्मा ‌ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किने बताएका थिए। 

राष्ट्रियसभाका सदस्यसमेत रहेका उनले एमालेले ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेपछि पुरानै पार्टीमा फर्किने सम्भवना बढेको बताएका थिए। 

हालसम्म एमालेको सदस्यता त्यागिनसकेका उनले एमालेले आफ्नो योग्यताअनुसारको भूमिका दिएमा सक्रिय हुने बताएका थिए।

‘उमेर हद हटाइएको यही अवस्थामा हामी एमालेमा जान्छौँ, म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु’, उनले भनेका थिए, ‘उहाँहरुले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’ 

काठमाडौंमा भएको नवौँ महाधिवेशनमा माधव नेपाललाई हराउँदै ओली अध्यक्ष बन्दा प्यानलबाट उपाध्यक्ष बनेका नेकपाकालीन अवस्थामा असन्तुष्ट भएका थिए। 

नेकपा माओवादी केन्द्रसँग मिलेर बनेको नेकपामा २०७७ कात्तिकदेखि विवाद बढ्दै गएर विभाजनसम्म पुग्दा वामदेव ओलीविरुद्ध उभिएका थिए।

त्यसपछि २०७७ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएसँगै वामदेवले एमालेमा रहेर काम गर्न चाहेनन्। उनले ओलीले एकलौटी गरेको भन्दै  एमालेका उपाध्यक्ष रहँदै  वामदेवले २०७८ भदौ १८ गते पार्टी परित्याग गरेका थिए।

अध्यक्ष ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका थिए। तर उनैले अहिले पार्टी सदस्यता नत्यागेको बरु नवीकरण गरिरहेको खुलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .