नेपालका लागि चिनियाँ राजदूत चेत सोङले सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका छन्।
एमाले केन्द्रीय कार्यालय च्यासलमा पुगेर राजदूत सोङले सोमबार दिउँसो ओलीसँग वार्ता गरेका हुन्।
राष्ट्रियसभा गृहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीसहितले समाजवादी मोर्चा घोषणा गर्नुअघि चिनियाँ राजदूत र ओलीबीच वार्ता भएको हो।
आगामी अगस्टमा चीन भ्रमणका लागि निस्कनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चा घोषणा या पार्टी एकता पहल गर्ने योजना बनाएका थिए। त्यहीअनुसार सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा घोषणा हुँदैछ।
चिनियाँ टोली नेपालमा सक्रिय, ओली र लिङ्देनसँग एकैदिन भेट
नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चा घोषणा हुँदा एमालेबाट फुटेर गएको एकीकृत समाजवादी पनि जोडिएको छ। यो मोर्चाका कारण एमालेमाथि राजनीतिक दबाब बढ्न सक्ने आकलन गरिएको छ।
उक्त भेटवार्ताका क्रममा भएको कुराकानीबारेमा दुई पक्षले केही खुलाइसकेका छैनन्। तर नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले भेटेको भोलिपल्ट ओलीसँग काठमाडौंस्थित राजदूतले पनि भेटेका हुन्।
आइतबार मात्रै चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले ओलीसँग च्यालसमै राजनीतिक भेटघाट गरेका थिए।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुखसहितको टोलीले दलका नेताहरूसँग भेट गरेका थिए।
आइतबार दिउँसो च्यासल पुगेर चिनियाँ नेतृ छु मिन सहितका चिनियाँ नेताहरूले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए।
आइतबार नै उक्त टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूसँग पनि भेट गरेका थिए।
यी दुवै दलसँगको भेटका क्रममा नेपाल-चीन सम्बन्ध, दलबीचको सम्बन्ध विस्तार, भूराजनीतिक परिस्थिति लगायतका विविध विषयवस्तुमा छलफल भएको थियो।
Shares
प्रतिक्रिया