नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपद्बाट बच्न एकीकृत बस्ती बनाउनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले प्राकृतिक विपद्बाट बच्नका लागि एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिएका हुन्।
उनले कुनै जमिनमा विद्युत, पानी र यातायातको सुविधा पुर्याएर मात्रै त्यहाँ बस्ती बनाउनुपर्ने बताए। उनले प्राकृतिक विपद्बाट सिर्जित समस्याहरुलाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्ने बताए।
‘गाउँका डाँडाँकाडामा भएका बस्तीहरुलाई कुनै जंगलसँग अल्झिएको जमिन छ भने त्यहाँ ल्याएर बस्ती बसाएर विद्युत, पानी र यातायात पु¥याउने कुरा अगाडी बढायौँ भनेदेखि एकीकृत बस्तीलाई हामी अगाडी बढाउन सक्छौँ,’ उनले भने, ‘एउटा त्यस्तो प्रकारको अस्पतालमा गएर इमर्जेन्सी वार्ड निर्माण गरेजस्तै बाढी पीडित र प्राकृतिक आपद्जन्य विषयहरुलाई तत्काल सम्बोधन गर्नको निम्ति त्यसप्रकारको मन्त्रालयमा एउटा प्रणालीको व्यवस्था गरियोस्।’
प्रमुख जिल्ला अधिकारीको सिफारिसमा तुरुन्त पीडितलाई उद्धार, राहत र पुर्नस्थापना गर्न सकिने संयन्त्र बनाउनुपर्ने बताए।
‘जहाँ प्रमुख जिल्ला अधिकारीले सिफारिस गर्न बित्तिकै राज्यका निकायले त्यहाँ गएर तुरुन्त राहत दिनेकाम, जनतालाई राज्यको उपस्थितिको अनुभुति दिलाउने काममा अगाडी बढ्न आवश्यक छ। त्यसो गरियो भने बाढी, पहिरोबाट पीडितलाई व्यवस्थित गर्नसक्छौँ,’ उनले भने।
सांसद पौडेलले समाज अराजकतातिर गएको भन्दै असत्य र भ्रामक समाचार सम्प्रेषण गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने पनि बताए।
‘समाज अराजकतातिर गएको छ। त्यसको निम्ति छिटोभन्दा छिटो कानूनी व्यवस्था गरेर असत्य भएको, प्रमाणित नभएको समाचार र कसैलाई बदनाम गर्न ल्याउने त्यस प्रकारका समाचारहरुलाई नियमन गर्ने, कानूनी दायराभित्र ल्याउनेगरी छिटोभन्दा छिटो प्रचलित कानूनलाई सक्रिय बनाएर वा कानून आवश्यक प¥यो भने कानून बनाएर अगाडी बढाउनेगरी सञ्चार मन्त्रालयले त्यो प्रकारको भूमिका खेलोस्,’ उनले भने।
उनले दिगो विकास लक्ष्यलाई भेट्नेहरू सरकारको बजेट तथा मन्त्रालयका काम, कारबाहीहरु अगाडी बढ्नुपर्ने बताए।
Shares
प्रतिक्रिया