राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद भवनभित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संसद सचिवालयका कर्मचारीलाई खाजा भत्तासमेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको एक पैसा भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताए।
उनले संघीय संसद सचिवालयमा छानो टाल्न र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएकाले त्यसको छानबिन गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे।
‘बेथितिका कुराहरु गरिरहँदा मित्र राष्ट्र चीन सरकारले बनाई दिएको यो विल्डिङ सहरी विकास मन्त्रालय अन्तरगत पर्दछ। यो बिल्डिङको बेथितिको कुरा उठाउँदैछु। सहरी विकास मन्त्रालयका छानो टाल्नलाई बजेट आउँदो रहेछ। यो वर्ष पनि चुहिन्छ’, उनले भने, ‘यही कम्पाउण्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ। पानी आउँदैन तर भुक्तानी भएछ।’
उनले संसद सचिवालयका कर्मचारीहरुको खाजा भत्तासमेत हुँदा मर्यादापालकहरु १२ घण्टासम्म ड्यूटी गर्दा पनि एक रुपैयाँ भत्ता नभएकोमा आपत्ति जनाए।
‘यो विभेद, यहीँभित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाँही लज्जाबोध हुन्छ’, उनले भने, ‘म सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
सांसद ढकालले संघीय संसद भवन भित्र आफ्नो आँखा अगाडि भइरहेको बेथिति र विभेद अन्त्य हुनुपर्नेसमेत बताए।
Shares
प्रतिक्रिया