प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौंमा भएको कार्यक्रममा एकजना नागरिकको खुलेर प्रशंसा गरे।
सन्दर्भ थियो, लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन समारोह।
जेठ १७ देखि २१ सम्म भारत भ्रमण गरेर फर्किएका प्रचण्ड सोमबार उक्त कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवसहित सहभागी थिए।
भारतीय राजदूतसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल-भारत सम्बन्ध जनता जनताबीमा घनिष्ठ रहेको भन्दै प्रशंसा गरे।
उनले सरदार प्रितम सिंहलाई नेपालमा यातायात क्षेत्रको व्यक्तिहरुमध्ये अग्रणी मानिने पनि बताए।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकार सिंहको रुचि यातायात, सामाजिक सेवा र शिक्षाको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि भएको बताए।
त्यसक्रममा उनले आफूलाई प्रधानमन्त्री बनाउन पनि सरदार सिंहले दिल्ली र नेपाल कयौँ पटक राजनीतिक दौडधूप गरेको स्मरण गरे।
‘यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानुपनि भयो’, उनले अगाडि भने, ‘काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभयो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ। म शान्ति प्रक्रियामा आएदेखि नै निरन्तर अन्तरक्रिया, सहकार्य हुने गर्यो।’
के भनेका थिए प्रधानमन्त्रीले?
उनले आफू शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट संगत गर्न पाएको पनि बताए।
‘म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट संगत गरेको छु। हुन त यहाँ हाम्रो कमरेड पम्फा भुसाल हुनु हुन्छ’, उनले भने, ‘उहाँको अलिकति नजिकै भएर भएका हुनाले पनि लगातार अन्तरक्रिया र सहकार्य हुने भएको छ। हामीले नजिकबाट एकअर्कालाई चिन्न बुझ्ने र महसुस गर्ने पनि गर्यौँ।’
उनले नेपाल-भारत सम्बन्धलाई जनता जनताबीच स्थापित गर्न विकसित सरदार प्रितम सिंहको योगदा विशिष्ठ र ऐतिहासिक रहेको पनि बताएका छन्।
प्रधानमन्त्री दाहालले यो पुस्तकले नेपालको विकासमा सघाउन र नेपाल भारत सम्बन्धलाई अझ बलियो र फराकिलो बनाउन ठूलो योगदान पुर्याउने विश्वास पनि व्यक्त गरे।
को हुन् प्रितम सिंह?
भारतीय नागरिक प्रितम सिंहको पेशा पाइलट थियो। तर उनी ७० वर्षअघि नै नेपाल छिरेका थिए। उनी नेपाल छिर्दा तीनवटा ६ चक्के ट्रक लिएर आएका थिए।
नेपालमा पहिलो पटक ३ वटा ट्रकसहित ढुवानीको जग बसालेकाले प्रितम सिंहलाई नेपालमा‘ट्रान्सपोर्ट पायोनियर’ उपनाम पनि दिइएको छ।
सन् १९५७ मा २२ वर्षको हुँदा प्रितम जम्मुकश्मिरबाट पिता कहनसिंहसँगै ट्रकबाट काठमाडौं छिरेका थिए। उनीहरुको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक थियो। त्यही बेलादेखि नेपालमा सार्वजनिक ढुवानीको जग बसेको बताइन्छ।
भारतमा जन्मिएर नेपाललाई कर्मभूमि बनाएका प्रितमले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेका थिए। उनले यातायातबाट नेपालको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए।
नेपालसँग प्रितमको सम्बन्ध पनि रोचक छ। प्रितमका पिता सरदार कहनसिंह जम्मु कश्मिरमा पहिलो यातायात व्यवसायी थिए।
त्यसबेला उनै प्रितम घुम्न नेपाल आए। उनले बुबा कहनसिंहलाई नेपालको सडक र व्यवसायिक सम्भावनाबारे बताए।
त्यसपछि बुबाले नेपालमा यातायातको व्यवसायिक अवस्था बुझ्न प्रितमलाई पठाए। त्यसबेला प्रितम न्युरोडमा घुमिरहेका थिए। त्यहीबेला उनको भेट पाइलट तालिम लिएका त्रिलोचनसिंह दुलटसँग भयो।
दुलटले तत्कालीन राजा महेन्द्र शाहसँग भेटाइदिए। प्रितमसँगको भेटपछि राजा महेन्द्र जम्मुकश्मिरस्थित प्रसिद्ध अमरनाथ धामको यात्रामा निस्किए।
अमरनाथको यात्राका क्रममा दोस्रो पटक भेट हुँदा राजा महेन्द्रले नै प्रितमलाई नेपालमा व्यवसाय थाल्न भनेका थिए।
त्यसबेला उनलाई राजा महेन्द्रले नेपालमै बस्न आग्रह गरेका थिए। राजा महेन्द्रले बाबुछोरालाई ट्रक नेपालमै चलाएर यहाँ सार्वजनिक ढुवानी लाइन स्थापना गर्न भनेका कुरा भारतीय दूतावासले निकलेको ‘शिख हेरिटेज अफ नेपाल’ पुस्तकमा लेखिएको छ।
राजा महेन्द्रको उक्त आग्रहपछि प्रितमले नेपालमै बसेर व्यवसाय थाले। उनले यातायातसँगै शिक्षा क्षेत्रमा पनि काम थाले। प्रितमकै पहलमा मोर्डन इन्डियन इङ्ग्लिस स्कुल स्थापना भएको थियो।
अहिले पनि थापाथलीस्थित प्रसूतिगृह नजिकैको गल्लीमा प्रितम सिंहको ठूलो कम्पाउन्डसहितको पुरानो शैलीको घर छ।
प्रितमले ढुवानी व्यवसायलाई विस्तार गर्न सन् १९५६ मा नेपाल प्रवेश गरेको बताएका छन्। आफैंले त्यसबेला ढुवानी व्यवसायका लागि जम्मुकश्मिरबाट १० हजार जनशक्ति ल्याएको पनि बताएका छन्।
नेपालमा सडक विस्तार बढेसँगै यातायात सञ्चालमा जम्मुकश्मिरबाट आएका शिख समुदाय सक्रिय भएका थिए। जम्मुकश्मिरबाट आएकाहरुले नेपालीलाई ड्राइभर, मेकानिक्स र प्लम्बरजस्ता काम पनि सिकाए।
त्यसबेला काठमाडौंलाई मुख्य बासस्थान बनाएका शिख समुदाय विस्तारै अन्य भागमा पनि पुगे। ढुवानी व्यवसायमा सक्रिय हुँदै उनीहरु विभिन्न मुख्य सहरमा पुगे। काठमाडौंबाट उनीहरु सन् १९६० मा पर्साको वीरगञ्ज पनि पुगे।
काठममाडौंपछि वीरगञ्ज पनि उनीहरुको बसोबासस्थल बन्यो। त्यसपछि यातायात सञ्जाल बढ्दै जाँदा उनीहरु रुपन्देहीको बुटवल र कृष्णनगर पुगे।
त्यहाँबाट उनीहरु सुदूरपश्चिमको धनगढी र मध्यपश्चिमको नेपालगञ्जमा पनि फैलिए। यी शिख समुदाय अब नेपाली नागरिकका रुपमा बसिसकेका छन्। नेपालका लागि शिख समुदाय सडक यातायात र ढुवानी सेवासँगै आउने अभिन्न नाम पनि हो।
Shares
प्रतिक्रिया