परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय पक्षसँग आग्रह गरेका छन्।
उनले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिदेखि भएको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन्।
रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपाली बेपत्ता छन्। साथै पहिरोमा ६ जना भारतीय पनि बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग शनिबार बिहानैबाट बेपत्ताहरूको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकाय खटाइएको बताएका छन्।
धामीले रुद्रप्रयागको खराब मौसमका कारण आफ्नो गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताहरूको खोजिका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको पनि बताएका छन्।
यसअघि परराष्ट्रमन्त्री साउदले शुक्रबार नै दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरेर रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोज, उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।
Shares
प्रतिक्रिया