सरकारले विवादित पृष्ठभूमिका ल्यारकाल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको छ। उनलाई गत मंगलबार (साउन १६) गते बसेको मन्त्रिपरिषद् बैठकले कोषको उपाध्यक्ष नियुक्त गरेको सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले नेपालखबरलाई जानकारी दिए।
यसअघि मन्त्रिपरिषद् बैठक साताको दुईपटक बस्दै आएको थियो। तर, अहिले आकस्मिक बाहेक मंगलबार मात्रै मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ।
उनको नियुक्तिबारे आइतबार मात्रै चर्चा भएको थियो। उनले नियुक्तिपत्र पनि बुझिसकेका छन्।
पूर्व संविधान सभा सदस्य समेत रहेका लामालाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले सो पदमा नियुक्त गरेको हो।
नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका लामा ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए।
कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठीको कार्यकाल १० साउनमा पूरा भएसँगै सरकारले कोषको नयाँ उपाध्यक्षमा लामालाई नियुक्त गरेको हो।
विसं २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारका अर्थराज्यमन्त्रीसमेत रहेका उनले दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि राजीनामा दिएका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले भने आनी छोइङलाई उपाध्यक्ष बनाउनेगरी तयारी अघि बढाएका थिए। तर, प्रधानमन्त्री प्रचण्डले ल्यारकालको नाम अघि सारेपछि उनी समस्यामा परेका थिए।
मन्त्री किरातीले गत असार १९ गते आनीसँग भेट गरेको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक समेत गरेका थिए।
Shares
प्रतिक्रिया