ad ad

राजनीति


उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा (सम्बोधनसहित)

उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा (सम्बोधनसहित)

नेपालखबर
माघ ६, २०७६ सोमबार ७:५८,

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी हुन्।

उनले बैठकको प्रारम्भमै राजीनामा पत्र पढेर सुनाएकी हुन्। ‘मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु’, संसदलाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाम्फेले भनिन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमै कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पदबाट राजीनामा दिएपछि असोज १४ बाट सभामुख रिक्त रहेको छ।

रिक्त सभामुखमा नेकपाले उम्मेदवार दिनका लागि  उपसभामुख तुम्बाहाङ्फेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

सभामुखमा आफ्नो दाबी रहेको बताउँदै उनले पार्टीले सभामुखको उम्मेदवार नटुंग्याएसम्म राजीनामा नदिने अडान लिँदै आएकी थिइन्।

आइतबार दुई अध्यक्ष र पार्टी सचिवालयले सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने निर्णय गरेपछि सोमबार उपसभामुखले राजीनामा दिएकी हुन्।

यस्तो छ उपसभामुखले संसदमा गरेको सम्बोधन

माननीय सदस्यहरु !
एउटा अप्रत्याशित र अस्वाभाविक परिस्थितिका कारण विगत केही समयदेखि प्रतिनिधिसभाको सभामुखको पद रिक्त रहँदै आएको व्यहोरा यहाँहरुलाई अवगत नै छ। सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा लामो समयसम्म नेतृत्वविहीन हुँदा उत्पन्न भएको जटिलता र यसले सृजना गरेका समस्याका बारेमा पनि हामी सबै जानकार नै छौँ । यस्तो स्थिति अब कायम राख्नुहुँदैन, यसले छिटै उपयक्त निकास पाउनपर्छ भन्ने माननीय सदस्यहरुको भावनालाई प्रतिनिधित्व गर्दै मैले पटक पटक सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउँदै आएको यथार्थसँग माननीय सदस्यहरु परिचित हुनहुन्छ।

अन्योलपूर्ण अवस्थामा उपसभामुख पद पनि रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर मैले सार्वजनिक रुपमा राखेको मान्यता सम्मानित सदनसमक्ष अभिलिखित गराउन चाहन्छु । समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषताका रुपमा रहेको छ। संविधानको यो मर्म अक्षर या वचनबाट होइन, हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुनसक्छ भन्ने मलाई लाग्छ। राज्यका उच्च ओहदाहरुमा समाजका सबै अंगहरुको प्रतिविम्ब झल्किन सके मात्रै वास्तविकै अर्थमा लोकतन्त्र सृदृढ हुनसक्छ भन्ने याथर्थसँग संविधान निर्माणमा अगुवाइ गर्नुहुने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुन्छ भन्ने मैले आशा लिएकी छु।

यसै विश्वासमाथि आधारित रहेर मैले आफ्ना धारणाहरु सम्बन्धित निकायहरुमा प्रस्तुत गरेकी हुँ। मेरा यी धारणाहरु कुनै अस्वाभाविक महत्वाकाङ्क्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु। यससम्बन्धी विभिन्न प्रतिक्रियाहरुलाई मैले नजिकबाट नियालेकी छु। समयले यस बारेमा वस्तुनिष्ठ मूल्यांकन गर्ने नै छ भन्ने मेरो विश्वास छ। लोकतन्त्र र खुल्ला समाजमा हामीले गर्ने हरेक निर्णयहरु जनताको निगरानीमा रहेका हुन्छन्। तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिएर भई नै रहेको हुन्छ।

निर्णय र सार्वजनिक जवाफदेहिताको बीचमा उचित सामञ्जस्यता हुनुपर्ने कुरामा सबै सम्बन्धित पक्षले ध्यान पुर्याउनुपर्छ भन्ने मलाई लाग्छ। दलबाट सिफारिस या निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भए पनि संवैधानिक ओहदामा बसुन्जेल सम्बन्धित व्यक्ति दलसँगको सम्बन्धबाट अलग रहेको हुन्छ। उक्त ओहदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संवैधानिक र कानुनी प्रबन्धअनुसार निर्देशित भएर क्रियाशील हन्छ। मैले पनि यसै अनुसार इमान्दारिताका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेकी छु।

तर कसैले पनि आफ्ना जराहरु बिर्सिनुहुँदैन, धरातल भुल्नु हुँदैन र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नुहुँदैन भन्ने कुरामा पनि म सचेत छु। विभिन्न पक्षहरुका बीचमा यस अन्यौललाई निकास दिन चलिरहेको छलफललाई मैले सूक्ष्म अध्ययन गरिरहेकी छु। प्रतिनिधिसभामा बहमत प्राप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दाबा गरेको अवस्थामा, हाम्रो प्रचलित संवैधानिक र कानुनी व्यवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि मैले सहजीकरण गर्नु आवश्यक भएको छ।

यसैअनुसार मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु। उपसभामुखका रुपमा विगत झण्डै दुई वर्षसम्म माननीय सदस्यहरुसँग बिताउन पाएको अवधि मेरो जीवनका अविस्मरणीय र सुखद अवधिका रुपमा स्मृतिमा रहनेछन्। एउटा महिला, त्यसमाथि पनि एकल अवस्थामा रहेको र जनजाति पृष्ठभूमिबाट आएकी म जस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय अङ्गको नेतृत्व गर्न पाएको अवसरलाई अत्यन्त महत्वपूर्ण अवसर ठानेकी छु। यसको श्रेय हाम्रो लोकतान्त्रिक प्रणाली र राजनीतिक दलहरुलाई जान्छ।

समावेशी लोकतन्त्रका माध्यमबाट न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्ने अभियानमा म भिन्न रुपमा, अविचलित र अविश्रान्त रुपमा क्रियाशील भइ नै रहनेछु। मलाई कर्तव्य निर्वाहको सिलसिलामा प्राप्त सहयोगका लागि माननीय सदस्यहरु र संसद् सचिवालयलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .