सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारसँग आदिवासी, जनजातिहरुको माग सम्बोधन गराउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताएका छन्।
सभापति देउवाले नेपाललाई सबै समुदायको समानुपातिक समावेशी देशको रुपमा विकास गर्न प्रयत्न गर्ने आश्वासन समेत दिए।
विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेसलाई सबै जाति, जनजातिको पार्टी हुनेगरी समानुपातिक प्रतिनिधित्व गराउने बताए।
आदिवासी जनजातिहरुको भाषा, कला र संस्कृतिलाई हेरेपछि नेपालमा के छैन? भन्ने अनुभूति आफूलाई हुने गरेको उल्लेख गर्दै उहाँले उनीहरुलाई साथ दिन आफूहरु सदैव लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
‘यो सबैको देश हो, नेपाली कांग्रेस सबैको पार्टी हो। पार्टी हो भन्ने हामीले स्थापित गर्नुछ। यसमा सुधार गर्नुछ। अहिले मैले भनिसके–भाइबहिनीहरुको अत्यन्तै सुन्दर गीत, नृत्य हेरेपछि नेपाल सच्चा मानेमा नेपालमा के छैन जस्तो लागेको छ मलाई,’ उनले भने, ‘यिनै काममा हामी सबै लागौं। मेरो पार्टीबाट यसमा पूरापूरा सहयोग हुने विश्वास दिलाउँदै भोलीदेखि तपाईंहरूको यो आदिवासी जनजाति दिवस हुँदैछ। यसको अवसरमा सम्पूर्ण आदिवासी, जनजातिलाई हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछु।’
त्यस अवसरमा सभापति देउवाले आदिवासी, जनजाति समुदायलाई विश्व जनजाति दिवसको शुभकामना पनि व्यक्त गरेका थिए।
Shares
प्रतिक्रिया