नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
‘हामीले एउटा मन्त्रालय छाड्ने र जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने भन्ने सहमति पार्टी बैठकमा भएको छ,’ बैठकपछि पार्टी सचिव दीनानाथ शर्माले भने, ‘सोही अनुसार मोदीजीलाई मन्त्रीबाट फिर्ता बोलाउने समझदारी भएको हो।’
प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्किएसँगै माओवादी नेताहरू बालुवाटारमा मन्त्री हेरफेरबारे छलफल गरेका थिए।
साथै, प्रधानमन्त्री प्रचण्डले आइतबार नै मन्त्रिपरिषद् हेरफेरको तयारी अघि बढाएका छन्।
जनमत पार्टीलाई सरकारमा समावेश गराउनेगरी प्रचण्डले माओवादीको भागमा रहेको एउटा मन्त्री हटाएका हुन्।
मोदीमाथि कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ।
कर्मचारी वृत्तबाटै पटकपटक सरुवामा चलखेल गरेको र मन्त्रीको मर्यादा नराखी बोल्ने गरेको गुनासो सुनेपछि प्रधानमन्त्री मोदीलाई यसअघि नै हटाउने मनस्थितिमा थिए।
Shares
प्रतिक्रिया