ad ad

राजनीति


जनमत पार्टीका प्रदेशसभा सदस्यको मूल्यांकनका लागि मतदान जारी

जनमत पार्टीका प्रदेशसभा सदस्यको मूल्यांकनका लागि मतदान जारी

नेपालखबर
भदौ २, २०८० शनिबार १३:७, काठमाडौँ

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिपछि प्रदेश सभा सदस्यको मूल्यांकनका लागि आज मतदान गराइरहेको छ। 

जनमत पार्टीबाट निर्वाचित १६ जना प्रदेश सभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत एप्रुभल रेटिङ अर्थात् अनुमोदन मूल्यांकन भइरहेको पार्टी सचिव बीपी साहले जानकारी दिएका छन्। 

सचिव साहका अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रदेश सभा सदस्यका क्षेत्रमा बिहान १० बजेदेखि मतदान भइरहेको छ। जनमत पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्यले राम्रो काम गरे वा गरेनन् भन्ने कुरा पार्टीका नेता तथा कार्यकर्ताले मतदानमार्फत अभिव्यक्त गर्दै छन्।

‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरुले जनताको चाहनाअनुसार काम गरे वा गरेनन्- मूल्यांकनका लागि पहिलोपटक एप्रभुल रेटिङ गरिरहेको हो। जसका लागि उसले १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकारी खटाएको छ।

जारी मतदान साँझ ५ बजेसम्म हुनेछ। 

५० प्रतिशतभन्दा कम मत ल्याउनेविरुद्ध राइट टु रिकलको प्रक्रिया सुरु हुने सचिव साहले जानकारी दिए। 

‘आज भइरहेको मतदान राइट टु रिकलको एउटा प्रक्रिया हो। यसमा फेल हुने सांसदहरुमाथि कारबाही प्रक्रिया सुरु हुनेछ’, साहले भने, ‘यो पहिलो वर्ष भएकाले अहिले नै हटाइहाल्ने त होइन, तर यो मतदानको परिणामले ठूलो महत्त्व राख्छ।’

जनमत पार्टीले यसअघि आफ्ना निर्वाचित स्थानीय जनप्रतिनिधिको पनि एप्रुभल रेटिङ गराएको थियो। जसमा २१ जना पास भएका थिए भने १ जना फेल भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .