ad ad

राजनीति


इतिहासमा पहिलोपटक सरकार पपुलर भयो, अप्ठेरो पर्दा प्रचण्ड नै चाहिन्छ : वर्षमान पुन

प्रचण्ड माओवादीको मात्र नभई कांग्रेस र एमालेको समेत नेता भएको दाबी
इतिहासमा पहिलोपटक सरकार पपुलर भयो, अप्ठेरो पर्दा प्रचण्ड नै चाहिन्छ : वर्षमान पुन

पुनले उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै सरकारको राम्रो कामबाट ९० प्रतिशत जनताले समर्थन गरेका बताए।


नेपालखबर
भदौ २, २०८० शनिबार १६:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जततामा लोकप्रिय भएको बताएका छन्। 

पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै वर्तमान सरकार उनले इतिहासकै सर्वथा लोकप्रिय सरकार भएको दाबी गरेका हुन्।

सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको भनाइ थियो। ‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ। सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ’, पुनले भने, ‘इतिहासमा पहिलोपटक सरकार पपुलर (लोकप्रिय) भएको छ।’

पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको बताएका छन्। 

पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै उनले सोही क्षमताका कारण प्रतिनिधिसभामा तेस्रो शक्ति भएर पनि आफ्ना अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बताए। प्रचण्ड माओवादीको मात्र नभई कांग्रेस र एमालेको समेत नेता भएको दाबी उनको थियो।

‘३२ सिटसहित प्रतिनिधिसभामा हामी तेश्रो शक्ति छौं, तर सरकारको नेतृत्व गरिरहेका छौं’, पुनले भने, ‘राष्ट्रिय राजनीतिमा समकालीन नेता प्रचण्ड नै हो। कांग्रेस–एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ।’

गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उनको भनाइ थियो।

‘१० देखि ११ प्रतिशत जनमत हाम्रो पक्षमा छ। तर सरकारको राम्रो कामबाट ९० प्रतिशत जनताले समर्थन गरेका छन्, हामीतर्फ आकर्षित भएका छन्।’ 

पुनले आफ्नो अध्यक्ष नेतृत्वको वर्तमान गठबन्धन सरकारको सम्पूर्ण ध्यान मुलुकबाट भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र त्यसको जगमा समृद्धिमा जाने रहेको बताए। ठूला भ्रष्टाचार र बेथितिहरुमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएकाले जनतामा सरकार लोकप्रिय रहेको उनको भनाइ थियो।

पुनले सुशासनका लागि काम गर्दा कहिले प्रतिपक्ष र कहिले सरकारमै सहकार्य गरिरहेका रानजीतिक शक्ति आफूहरुसँग चिढिएको बताए। 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनाहिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले बहुमत जुटाउन प्रयास गरेको खुलासा पुनले गरे।

तर, तत्काल सत्तारुढ दलका शीर्ष नेता बसेर त्यस्तो प्रयास विफल पारिएको उनले बताए। ‘सरकारले सुशासनका लागि काम गर्दा कहिले सरकारमा भएको र कहिले प्रतिपक्षमा रहेका दल चिढिने अवस्था देखियो’, पुनले भने।

सरकारले गरेको राम्रा कामबारे जनतामा सम्प्रेषण गर्ने उद्देश्यले हालै सम्पन्न पार्टी केन्द्रीय समितिले तीन महिने अभियानको कार्यक्रम पारित गरेको बताए।

पार्टी अध्यक्ष प्रचण्डले सात प्रदेशका एकएक वडामा आफैं गएर संगठन निर्माण गर्छु भन्नुले पार्टीमा नयाँ रक्तसञ्चार पैदा भएको उल्लेख गरे।

उनले आफ्ना अध्यक्ष प्रचण्डमा परिस्थितिअनुसार अघि र पछि हिंड्न सक्ने कौशलता रहेकै कारण गत निर्वाचनमा पार्टी ३३ सिटसहित तेस्रो शक्तिमा खुम्चिए पनि मुलुकको नेतृत्व गर्ने मौका आएको बताए। 

सरकारका कांग्रेससहितका दलसँगको सहकार्यमा रहेको भए पनि राष्ट्रिय मुद्दाहरुमा प्रमुख प्रतिपक्षीसहितका दलसँग हातेमालो गरेर अघि बढ्ने नीतिमा आफूहरु रहेको उल्लेख गरे।

संसदका विषयगत समितिहरुमा बहुमत र अल्पमतका आधारमा सभापति चुन्ने परम्परा भए पनि सबैलाई मिलाएर लैजानकै लागि प्रतिपक्षी एमालेलेलाई तीन समितिको सभापति दिने सहमति भएको उनको भनाइ थियो। १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणमा सहकार्य गरेर आएको कांग्रेसलाई छाडेर आजको रानजीति अगाडि नबढ्ने उनको स्पष्टोक्ति थियो।

आजको राजनीतिमा कांग्रेससँग मुद्धा मिलेकाले सरकारमा सँगै रहेको भन्दै उनले रणनीतिक र सैद्धान्तिक रुपमा कम्युनिष्टहरू एक ठाउँमा हुनुपर्छ भन्नेमा आफूहरु स्पष्ट रहेको जनाए।

‘अहिलेको परिवर्तन सही छ। यसलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्छ भन्नेसँग सहकार्य गर्छौं’, उनले भने, ‘देशभित्रका मुख्य पार्टीहरुलाई सन्तुलन गरेर जाने हाम्रो नीति छ।’ 

पुनले पूर्वमाओवादीसहित विचार र पृष्ठभूमि मिल्ने दलहरुसँग एकता र ध्रुवीकरण गर्दै जाने नीति रहेको पनि उल्लेख गरे।

‘हाम्रो अध्यक्ष प्रचण्डलाई बायाँतिर साइड लाइट देखाएर बायाँ हिंड्ने र बायाँतिर साइडलाइट देखाएर दायाँ हिंड्ने चरित्रको भन्ने पनि गरिएको छ’, उनले भने, ‘कहिलेकाहीं २४ घण्टामा पनि परिस्थितिमा फेरबदल आउन सक्छ। फेरिएको परिस्थितिअनुसार अघि बढ्न हामी सिपालु छौं। यो हाम्रो अध्यक्षको तरिका हो। माओवादी तरिका हो। विगतदेखि नै हामी यसैगरी आइरहेका छौं।’

झट्टा हेर्दा छिटो कार्यनीति बदल्ने आफूहरुको तरिका विरोधाभाषपूर्ण लागे पनि त्यो सही र मुलुकको हितमा भएको दाबी पुनले गरे।

फरक प्रसंगमा पुनले रुस–युक्रेन युद्धपछि अमेरिका–चीनलगायत शक्ति राष्ट्र र उनीहरुलाई समर्थन गर्ने मुलुकहरुबीच तीव्र ध्रुवीकरण भइरहेको चर्चा गरे। यद्यपि नेपाल असंलग्नताको नीतिअनुसार कुनै पनि ध्रुवीकरणको पक्षमा नलाग्ने स्पष्ट गरे। यद्यपि, विकास साझेदारका रुपमा भने सबै मुलुकसँग बराबर सम्बन्ध कायम गरी सहकार्यको नीति लिइने उल्लेख गरे। 

‘सुरु–युक्रेन युद्धको भूराजनीतिक प्रभाव एसिसा र दक्षिणपूर्वी एसियाका देशहरुमा पनि परेको छ। हाम्रो परराष्ट्र नीति असंलग्न हो। कुनै पनि सैन्य गठबन्धनमा आबद्ध हुँदैनौं’, पुनले भने, ‘तर, हाम्रो राष्ट्रिय हितमा हुने गरी आर्थिक विषयमा सबैसँग सहकार्य गर्छौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .