ad ad

राजनीति


माओवादीभित्रका भ्रष्टाचारीलाई पनि कारवाही हुन्छ : नारायणकाजी श्रेष्ठ

गण्डकीका नेतालाई सुनाए- पार्टीमा रुपान्तरणको खाँचो छ
माओवादीभित्रका भ्रष्टाचारीलाई पनि कारवाही हुन्छ : नारायणकाजी श्रेष्ठ

तस्बिर : रासस


नेपालखबर
भदौ २, २०८० शनिबार १९:२, पोखरा

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब पार्टीभित्र पनि भ्रष्टाचारविरोधी अभियान चलाउने उद्घोष गरेका छन्। 

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले सरकारमाजस्तै पार्टीभित्र पनि रुपान्तरणको खाँचो रहेको बताउँदै गलत गर्नेलाई कारवाही गरिने जिकिर गरे।

उनी शनिबार माओवादी गण्डकी प्रदेशको ७औं पूर्ण बैठकलाई सम्बोधन गर्दै थिए।

माओवादीकै शीर्ष नेताहरुको नाम सुन तस्करीदेखि भ्रष्टाचारका विभिन्न मुद्दामा जोडिएको बेला गृहमन्त्री श्रेष्ठले भ्र्रष्टाचारविरोधी अभियानले पार्टी र राष्ट्र दुबैको हित गर्ने पनि बताए।

सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानको क्रममा कसैलाई नछाडन्ने बताउँदै उनले भने, ‘हामीले राज्यको क्षेत्रमा जे गरिरहेका नि, अहिले। कुन पार्टीको छ नहेर्ने? कुन हाम्रो नजिक छ नहेर्ने। कुनसँग हिजो हाम्रो संगत भएको थियो, नहेर्ने? कुन परिवारको छ, नहेर्ने? जसले भ्रष्टाचार गर्छ, जसले तस्करी गर्छ। जसले कालोबजारी गर्छ, जसले ठगी गर्छ, जसले किर्ते गर्छ। ती सबैलाई कानुनको दायरामा ल्याउने र कारवाही गरी छाड्ने जो नीति हामीले राज्यको क्षेत्रमा अपनाएका छौँ अब पार्टीको सम्बन्धमा पनि त्यही लागू हुन्छ।’

माओवादीले पछिल्लो समय रुपान्तरण अभियान सञ्चालन गरेको पनि उनको भनाइ थियो। 

सामूहिक र केन्द्रीकृत विचारलाई अघि बढाउँदा पार्टीलाई विधि र पद्दतिभित्र राखेर गुटको अन्त्य गरिने, पार्टीमा भ्रष्टीकरणको प्रक्रियालाई रोक्दै जनतासँग बिग्रिएको सम्बन्धलाई फेरि सुधारिने उनले घोषणा गरे। 

उनले ठगी, अनियमितता र  गुण्डागर्दीविरुद्धको अभियानलाई सांस्कृतिक क्रान्तिको उपमा पनि दिए।

पार्टीभित्र रुपान्तरणको प्रक्रिया चलिरहे पनि अध्यक्ष प्रचण्डको विकल्प नभएको उनको भनाइ थियो। अध्यक्ष प्रचण्डको पक्षमा उभिएका उनले प्रचण्डको नेतृत्वमा नहुँदा पार्टी खतरामा पर्ने जिकिर पनि गरे। 

‘सुशासनसहितको समृद्धिका लागि सांस्कृतिक क्रान्ति, सामाजिक आर्थिक क्षेत्रमा रुपान्तरणका निम्ति दुईवटा सांस्कृतिक क्रान्ति एकैपटक अध्यक्षको नेतृत्वमा सम्पन्न पूर्ण बैठकले गरेको छ। पार्टीको अध्यक्ष कमरेड आफैं सरकारको नेतृत्व गर्दै हुनुहुन्छ। त्यसकारण पार्टीको नेतृत्व र सरकारको नेतृत्व एउटै भएको समयमा सांस्कृतिक क्रान्त्रिको घोषणा भयो,’ उनले भने, ‘एउटै नेतृत्व भएको बेलामा सामाजिक  तथा पार्टी रुपान्तरणको लागि नयाँ ढंगको सांस्कृतिक क्रान्तिको घोषणा गरियो। यहाँ विभिन्न व्यक्तिहरुले पार्टीलाई खतरामा पार्न खोजिरहेका छन्। अहिले अध्यक्षज्यूकै नेतृत्वमा पार्टी हुनुपर्छ भन्ने हो। उहाँले नै रुपान्तरण अभियानको नेतृत्व गर्नुहुनेछ। उहाँले नेतृत्व नगरे समस्या हुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .