पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बयान दिएका छन्।
भट्टराईले सोमबार बिहान सामाजिक सञ्जालमार्फत ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सीआईबीलाई बयान दिएकाे जानकारी गराएका हुन्।
‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धताबमोजिम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु’, भट्टराईले लेखेका छन्, ‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानबिन्दु बनोस् भन्ने कामना गर्दछु।’
पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र माधवकुमार नेपालसँग बयान नलिएको भनेर आलोचना भइरहेका बेला भट्टराईले आफूले बयान दिएको कुरा सार्वजनिक गरेका हुन्।
Shares
प्रतिक्रिया