ad ad

राजनीति


उच्चस्तरीय समिति बनाउन दलहरु सहमत, तीन सदस्यीय कार्यदल गठन

उच्चस्तरीय समिति बनाउन दलहरु सहमत, तीन सदस्यीय कार्यदल गठन

सिंहदरबारमा आयोजित संसदका राष्ट्रिय दलको बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
भदौ ४, २०८० सोमबार २३:२१, काठमाडौँ

साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन दलहरुबीच सैद्धान्तिक सहमति जुटेको छ।

सोमबार राति सिंहदरबारमा बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठाउँदै आएको उच्चस्तरीय समिति बनाउने कुरामा दलहरु सहमत भएका हुन्। 

उक्त बैठकले उच्चस्तरीय समिति बनाउने कुरामा सहमति जुटाउँदै तीन सदस्यीय कार्यदल पनि बनाउने निर्णय गरेको छ।

उच्चस्तरीय समितिको टीओआर तय गर्नका लागि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका प्रमुख रमेश लेखक सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाइएको हो।

एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय समितिको ड्राफ्ट बनाउने गरी तीन नेता सम्मिलित कार्यदल बनाइएको जानकारी दिए।

‘आजको बैठकममा तस्करीको विष्यमा उच्चस्तरीय समति बनाउने कुरा राख्यौँ। सत्तारुढ दलहरुबाट छानबिन समिति बनाउन तयार छौँ भन्ने भएको छ’, उनले भने, ‘उच्चस्तरीय समितिमा सत्तारुढ दलहरु पनि सहमत भएपछि तीन सदस्यीय कार्यदल बनाइएको छ।’

उक्त कार्यदलले उच्चस्तरीय समितिको टीओआर मंगलबार बिहान ११ बजेसम्म तय गरेपछि दिउँसो २ बजे शीर्ष दलको बैठक बस्ने गिरीले बताए। 

उनले सत्तारुढ दलहरु भोलि पनि अहिलेकै प्रतिबद्धतामा उभिएमा साउन १० गतेदेखि अवरुद्ध संसद् पनि खुल्ने जानकारी दिए।

गिरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को छानबिनमा कमजोरी देखियो भने सुधार्ने गरी उच्चस्तरीय समितिले काम गर्ने बताए।

उनले भोलिका दिनमा अहिलेको जस्तो सुन तस्करी रोक्ने गरी समिति बनाउने माग आफूहरुले गरेको पनि बताए। 

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उच्चस्तरीय समितिका लागि सहमति बनेको बताए। 

उनले तीनजना नेता सदस्य रहेको ड्राफ्ट मस्यौदा समिति पनि गठन भएको जानकारी दिए। 

‘करिब सहमति भएको छ। दुईवटा बैठकमा जिम्मेवार प्रतिपक्षी भएर भूमिका खेल्यौँ’, उनले भने, ‘भोलि अर्कै चिजमा गएर बिग्रियो भने मात्रै नत्र दलहरु उच्चस्तरीय समितिमा सहमत भइसकेका छन्।’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि बैकठमा सकारात्मक छलफल भएको बताए।

‘सबै कुरा र विकल्पमा कुरा भएको छ’, उनले भने, ‘सकारात्मक छलफल भएको छ। भोलि संसद् चल्छ। भोलि सबै कुरा टुंगिन्छ, संसद पनि चल्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .