नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गरेका छन्।
मंगलवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो टिप्पणी गरेका हुन्। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहेका नेता विश्वकर्माले नेपाली कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकीर समेत गरे।
समाजमा जन्मिएको पार्टी भएको हुनाले नेपाली कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उनको भनाई थियो। नेता विश्वकर्माले नेपाली कांग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको बताए।
उनले भने, ‘समाजबाट जन्मिएका पार्टीहरु समाजमै छन्। सामाजिक सञ्जालबाट बनेका पार्टीहरु अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाई छ। यति फरक छ। हाम्रो पार्टी समाजमै छ। र, केही पार्टी सामाजिक सञ्जालमा छन्। यसलाई हामीले यसरी बुझेका छौं। हामीले के बुझेका छौं भने प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक जनतासँग काम गर्न जाने? यसैका लागि हामीले के भन्यौं भने अब यो घिउजस्तै चिज बेच्ने कि वास्तविक घिऊ नै बेच्ने भन्ने कुरा हो। घिउ जस्तै बेचेका साथीहरुसँग हामी वास्तविक घिउनै लिएर जनतामा जाने हो।’
त्यस अवसरमा नेता विश्वकर्माले कांग्रेसलाई ‘घिउ’ र रास्वपालाई ‘घिउको वासना’ सँग तुलना समेत गरे। उनले जनताको बीचमा गएर काम गरेको हुनाले नै अहिले पनि कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल बन्न सफल भएको बताए।
Shares
प्रतिक्रिया