राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ।
सोमबार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिइ जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै रास्वपा सांसद गणेश पराजुलीले सो कुरा बताएका हुन्।
उनले आफ्नो प्रतिष्पर्धा जनमतसँग नभइ सत्ता गठबन्धनका दलहरुसँग भएको बताउँदै प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रुपमा सरकारलाई खबरदारी गर्नुपर्नेमा अरु समितिको नेतृत्व पनि लिएर राजनीतिक भागबण्डामा लागेको आरोप लगाए।
‘रास्वपाले आफ्नो उम्मेदवारी फिर्ता लियो र जनमतका अब्दुल खानलाई समर्थन गरेको छ। उहाँका पार्टीका सभापतिले खेल्नुभएको शालिनताका कारण हो,’ उनले भने, ‘हाम्रो प्रतिस्पर्धा जनमतसँग थिएन, उहाँको उम्मेदवारसँग हुँदै होइन। सत्ता पक्ष र गठबन्धनले खेलेका भुमिकाप्रति थियो। प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रुपमा सरकारलाई खबरदारी गर्नुपर्ने, अरु राजनीतिक दलले सदनमा उपस्थितिको आधारमा समितिको नेतृत्व गर्न पाउनुपर्ने स्वभाविक प्रक्रिया हो। तर राजनीतिक भागबण्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट गर्नुभयो। यो दुषित कुरा हो। मधेसीप्रति न्याय गरेका हौँ।’
सांसद पराजुलीले राजनीतिक भागबण्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट भएकोप्रति असन्तुष्टि व्यक्त गरे।
Shares
प्रतिक्रिया