प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित भएकी छिन्।
सोमबार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेका हुन्।
निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन्।
उनले संविधान अनुरुप र जनताको आसा अनुरुप सरकारलाई सुझाव दिने बताउँदै कृषि बृहत् क्षेत्र रहेको बताइन्। साथै, उनले आफूले सदैव समन्वयकारी भुमिका निर्वाह गरेर अघि बढ्ने प्रतिवद्धता जनाइन्।
‘समिति बनेको धेरै त भएको छैन। धेरै ब्रिफिङ लिएर पहिले डिसीजन भइसकेको जस्तो लाग्छ। मन्त्रीले पनि समय दिइरहनुभएको छ। मन्त्रालयका सचिवहरुले पनि ब्रिफिङ गरिरहनुभएको छ। धेरै वृहत कार्य भएको क्षेत्र हो,’ उनले अघि भनिन्, ‘यो कार्यक्षेत्रमा जति पनि माननियज्युहरु हुनुहुन्छ आफ्नो यरीयामा पोख्त, ज्ञानी, अनुभवि हुनुहुन्छ। त्यही कारणले समितिको सभापतित्व गर्न जमर्को राखेको हुँ। जतिपनि माननीयज्यूहरूको प्रस्तुती, उहाँहरूको इन्फरमेसन इन्डेप्थ छ।’
उनले संवद्ध मन्त्रालयलाई आवश्यक अनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भुमिका खेल्ने बताइन्।
‘अन्तर्राष्ट्रिय रुपमा पनि उहाँहरूलाई धेरै कुरा थाह भएको छ। सभापति भनेको कोर्डिनेटरको भुमिका हो। यहाँ साथीहरूले दिनुभएको सुझाव, यहाँहरूले देखाउनुभएको मार्गमानै अगाडी कामकाज बढाउने योजना छ। त्यस हुनाले मलाई एकदमै खुसी लागेको छु,’ उनले भनिन्, ‘राम्रो सहकर्मी साथीहरुसँग मिलेर केही काम गर्न पाउँछु होला भन्न चाहन्छु। संविधान अनुरुप र जनताको आशा अनुरुप सरकारलाई दिने पोलीसी, डिरेक्सनहरु र सरकारको काम गर्ने तौरतरीकामा गर्न सक्ने इम्प्रुभ्मेन्टमा सफलताका साथ अगाडी बढोस् भनेर भन्छु।’
Shares
प्रतिक्रिया