नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालका राजनीतिक दलहरुमा अमेरिकाले दलाल बनाएको बताएका छन्।
नेपाललाई अमेरिकी साम्राज्यवादले चीन घेर्ने र ध्वस्त गर्ने केन्द्र बनाएको भन्दै खनालले त्यसका लागि नेपालका पार्टीहरूमा दलालहरू खडा गरेको बताए ।
शुक्रवार शान्तिका लागि अन्तर्राष्ट्रिय ट्रेड युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले आफ्नो स्वार्थ पूरा गर्न नेपालका जुनसुकै दलमा अमेरिकाले दलाल बनाएको दाबी गरे।
एमसीसीको चर्को आलोचना गरेका खनालले आफू प्रधानमन्त्री भएको बेलासमेत अमेरिकाले नेपाललाई के सहयोग गर्न सकिन्छ भनेर सोधीखोजी गर्ने गरेको स्मरण गरे।
‘अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रबिन्दु चीन घेर्ने र ध्वस्त गर्ने हो। यो विश्व रणनीतिका निम्ति उसलाई काम लाग्ने सबैभन्दा आवश्यक ठाउँ नेपाल पर्यो’, खनालले भने, ‘नेपाल परेकाले उसले लामो समयदेखि भित्री ढङ्गले यहाँ दलाल खडा गर्ने काम गर्यो। चाहे त्यो कांग्रेस वा कम्युनिस्ट जुनसुकै पार्टीभित्र दलाल खडा गर्ने र आफ्ना इन्ट्रेस्टहरूलाई पुरा गर्ने गराउने कामहरू अमेरिकी साम्राज्यवाद लाग्दै आयो।’
Shares
प्रतिक्रिया