ad ad

राजनीति


प्रदीप ज्ञवालीको आरोप- प्रधानमन्त्रीले कुर्सी जोगाउन भारतलाई जलस्रोत हस्तान्तरण गरे

‘कुर्सीका लागि जस्तासुकै कागजमा पनि सहिछाप गर्न तयार हुने मान्छेहरू सरकारमा छन्’
प्रदीप ज्ञवालीको आरोप- प्रधानमन्त्रीले कुर्सी जोगाउन भारतलाई जलस्रोत हस्तान्तरण गरे

नेपालखबर
भदौ १६, २०८० शनिबार १४:३४, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुर्सी बचाउनका लागि नेपालका जलस्रोत भारतलाई हस्तान्तरण गरेर आएको आरोप लगाएका छन्।

शनिबार एमालेको लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले कुर्सीका लागि जस्तासुकै कागजमा पनि सहिछाप गर्न तयार हुने मान्छेहरू वर्तमान सरकारमा रहेको बताए। 

‘यस्ता पात्रहरु सरकारमा छन् जसले आफू सत्तामा टिक्नका लागि, आफ्नो कुर्सीको दिर्घायुका लागि जस्तासुकै कागजमा पनि सहिछाप गर्न तयार छन्,’ ज्ञवालीले भने।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कुनै पनि राष्ट्रिय हितका पक्षमा कुनै आवाज उठाउन नसकेको ज्ञवालीको भनाइ छ।

‘हामीले देख्यौं अस्तिमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुभयो। नेपालका राष्ट्रिय हितका पक्षमा कुनै आवाज उठाउन सक्नुभएन। हामीलाई भैरहवा एयरपोर्टको नयाँ रुट, हामीलाई २७ वर्षदेखि अलपत्र पञ्चेश्वरमा ब्रेक थु,’ ज्ञवालीले सम्बोधनको क्रममा भने, ‘हामीलाई चाहिएको थियो अपर कर्णालीमा ब्रेक थु। उहाँले केहीपनि गर्नुभएन। बरु उल्टै भारतीय प्राथमिकताका जलस्रोत तम शरणमः गर्दै उहाँले हस्तान्तरण गरेर आउनुभयो।’

कुर्सीबाट नहट्ने आशिर्वाद लिनका लागि राष्ट्रिय हितसँग सम्झौता गरेर आएको उनले बताए। ‘उहाँले कुर्सीमा दिर्घायु भवः भन्ने आशिर्वाद पाउन राष्ट्रिय हितसँग सम्झौता गरेर आउनुभयो,’ ज्ञवालीले भने।

ज्ञवालीले अहिले राष्ट्रिय हितको अभियान अप्ठेरोमा परेको पनि बताए। उनले एमाले एकतावद्ध छ भन्ने सन्देश लुम्बिनीबाट दिनुपर्ने पनि बताए। 

‘लुम्बिनीबाट हामीले एकतावद्ध एमालेको सन्देश दिनुछ। प्रतिस्पर्धा नहुने होइन, तर कतिबेला कुन कुरा गर्ने, कतिबेला कुन गीत बजाउने भन्ने ध्यान दिनुपर्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .