ad ad

राजनीति


सांसदहरूलाई दलीय स्वार्थभन्दा माथि उठ्न सामान्य प्रशासनमन्त्रीको आग्रह

सांसदहरूलाई दलीय स्वार्थभन्दा माथि उठ्न सामान्य प्रशासनमन्त्रीको आग्रह

नेपालखबर
भदौ १९, २०८० मंगलबार १७:१४, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरुलाई आग्रह गरेकी छन्।

मंगलवार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मुलुकमा सुशासन कायम गर्नका लागि सांसदहरुले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताइन्।

मन्त्री देवीले देशका सबै भुगोल र समुदायलाई समेटेर मात्रै कानून निर्माण गर्ने काम नभए भ्रष्टाचारको अन्त्य गरी मुलुकलाई सुशासनको बाटोमा हिँडाउन सक्ने अवस्था नरहेको बताइन्।

देशको भूगोललाई हेरेर, त्यहाँ बसोवास गरेका सबै समुदायलाई समेटेर मात्रै सांसदहरुले कुनै पनि कानूनको निर्माण र संशोधन गर्नुपर्ने उनको भनाई थियो।

मन्त्री देवीले सरकारबाट भएको कमजोरी सच्याउनका लागि पनि सांसदहरुले सरकारलाई आवश्यक्ता अनुसार सचेत गराउनुपर्ने बताइन्।

उनले भनिन्, ‘हामी जुन ऐन, कानून बनाउँछौं। त्यसलाई हामीले देशभरकै कुनाकाप्चाका भुगोललाई हेरेर, त्यहाँ बसोवास गरेका हरेक वर्गलाई समेटेर हामीले ऐन, कानून बनाऔं। अनि, विगतमा हाम्रा ऐन, कानुनका कुन दफा, कुन उपदफा हामीले हटाउनुपर्ने हो? त्यो हटाऊँ। जबसम्म हामीे हटाएनौ भने सबभन्दा ठूलो व्यथिति छ हाम्रै–करपशन्।’

उनले थपिन्, ‘त्यसलाई हामीले कसरी हटाउन सक्छाैँ? सबभन्दा पहिला भ्वाङ परेको त्यही हो। त्यसलाई सबभन्दा पहिले जरादेखि शून्यता ल्याएनौं भने हामी जतिसुकै चिलायो भने केही पनि गर्न सक्दैनौं। हामीले सरकारसँग पनि कति त्रुटी भएको छ? सरकारलाई पनि ध्यानाकर्षण गराऔं। हामी यो राज्य व्यवस्थालाई पनि सुशासन कायम गर्न चाहन्छौं भने आफ्नो दलबाट पनिमाथि उठेर एकीकरण गरेर हामी एकतावद्ध भएर गएनौ भने एकअर्कामाथि दोषारोपण गरेर मात्र हुँदैन। अब त्यसो गर्न छोडौं।’

मन्त्री देवीले एकअर्कालाई दोषारोपण गरेर मुलुकमा सुशासन कायम नहुने भएकाले त्यस्ता खालका कारबाहीमा दलहरुले समय खर्च गर्न नहुने पनि बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .