गत महिना चुनावबाटै लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको नेकपा एमालेको बागमती प्रदेश कमिटीको नेतृत्व चयन पनि चुनावबाटै हुने देखिएको छ।
पहिलो पटक हुन लागेको अधिवेशनमा नेतृत्वसहितका पदमा दुईभन्दा बढी आकांक्षी भएपछि चुनावबाटै छिनाफानो हुनसक्ने बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेले बताए।
मंगलबारबाट सुरु हुने बन्द सत्रमा १ हजार ८० प्रतिनिधिले २४० सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछन्।
सोमबार अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अधिवेशनको अधिवेशनको उद्घाटन गरेका छन्। मंगलबार हुने बन्दसत्रमा सहमति नजुटे चुनावी प्रक्रिया अघि बढ्ने पाण्डे बताउँछन्।
‘सबै पदमा त चुनाव नहोलार तर सर्वसम्मत हुने सम्भावना न्यून देखियो,’ पाण्डेले नेपालखबरसँग भने, ‘बन्द सत्रमा कतिको नमोमिनेसन पर्छ हेरौँ। अनि सहमतिमा टुंगो लगाउने प्रयास गर्छौँ।’
यद्यपि सहमतिको प्रयास पनि जारी राखेको स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारी बताउँछन्।
‘सकभर सर्वसहमतिमै नेतृत्व चयनको प्रयास अन्तिमसम्म हुन्छ,’ अधिकारीले भने, ‘सहमति नजुट्दा लोकतान्त्रिक विधि अपनाउने कुरा छँदैछ।’
काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेको बागमती प्रदेश कमिटीको नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुने सम्भावना बढी छ।
तर, वर्तमान अध्यक्ष नुवाकोटका केशव पाण्डे फेरि दोहोरिने प्रयासमा छन्।
पोलिटब्युरो सदस्य महेश बस्नेतले केशव पाण्डेलाई र सानु श्रेष्ठले कैलाश ढुङ्गेललाई समर्थन गरेका छन्।
‘अध्यक्षमा कैलाशजी र कृष्णप्रसाद दाहालजीबीच चुनाव हुने देखियो,’ बस्नेतले नेपालखबरसँग भने, ‘सर्वसहमति जुटाउन नेतृत्वले कुरा गरिरहेको छ।’
उनले कैलाशलाई अध्यक्ष बनाएर कृष्णलाई अन्य कुनै जिम्मेवारी दिने बताइसकेकोले नमानेको अवस्थामा स्वच्छ चुनाव गरेर नेतृत्व चयन गरिने दाबी गरे।
दोहोरिएला लुम्बिनीकै परिदृश्य?
१९ दिनअगाडि लुम्बिनी प्रदेशमा जुन परिदृश्य देखिएको थियो, यसपटक बागमतीमा पनि सोही दोहोरिने नेताहरुको भनाइ छ।
लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल निकट नेताहरु प्यानलै खडा गरी चुनावमा होमिएका थिए। जसमा पौडेल पक्षका राधाकृष्ण कँडेल विजयी भए। महासचिव पोखरेल पक्षका हरि रिजाललाई २ मतले हराउँदै कँडेलले बाजी मारेका हुन्।
भदौ २० गते भएको लुम्बिनी प्रदेशको चुनावले बागमती प्रदेश कमिटीको नेतृत्व चयनमा पनि चुनाव गर्ने बाटो खोलिदिएपछि नेताहरु दुई कित्तामा उभिने देखिन्छ।
दाहाल र ढुङ्गेलको पक्षमा नेताहरु विभाजित भइसकेका छन्।
चुनाव भएमा आफ्नो पूर्ण समर्थन कैलाश ढुङ्गेललाई हुने पोलिटब्युरो सदस्य महेश बस्नेतले बताए।
बागमतीको अध्यक्ष पदका लागि आकांक्षी देखिएका ढुङ्गेल महासचिव पोखरेलको समर्थन पाउने आशमा छन्। लुम्बिनीको क्षति फर्काउने दाउमा महासचिव शंकर पोखरेल पक्षको खेमा लागेको छ।
दाहालले उपाध्यक्ष पौडेल लगायत खेमाको साथ पाउने सम्भावना छ। केन्द्रीय सदस्य रहेका दाहाल अध्यक्ष केपी ओलीकै साथ पाउने बताउँछन्।
‘चुनाव नै हुँदा अध्यक्षका प्रतिस्पर्धीले आफ्नो टिम बनाएर अघि बढ्नुहुनेछ,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘त्यसबेला कुन पक्षको भन्ने नै हुँदैन।’
यद्यपि, खुलेरै प्यानलको घोषणा नहुने उनले बताए।
‘औपचारिक प्यानल बन्दैन तर, अध्यक्ष उम्मेदवारले आफ्नो लागि भोट माग्न पनि अरु पदका उम्मेदवार बनाउनैपर्छ,’ उनले भने।
माथिबाट कुनै नेताको नाममा सहमति गर्ने प्रस्ताव भएमा चुनावी वातावरण बन्ने नेताहरुको भनाइ छ। तलबाट आएका प्रतिनिधिहरु चुनावबाटै नेतृत्व चयन हुनुपर्ने माग लिएर आएको कतिपय बताउँछन्।
उनीहरुको मागविपरीत सहमतिका लागि नाम प्रस्ताव भए हलले मान्दैन र चुनावको माहोल बन्ने देखिन्छ।
ओलीको चेतावनी : प्यानलै बनाएर चुनाव लडे उम्मेदवारी खारेज
लुम्बिनीमा जस्तै बागमतीमा पनि प्यानल बन्ने सम्भावना देखेपछि अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर चुनाव लडे उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका छन्।
‘मिल्दा लोकतन्त्रको अभ्यास नभएको भन्ने हुँदैन। मिल्नु सबैभन्दा ठूलो लोकतन्त्रको अभ्यास हो,’ सम्मेलन उद्घाटन गर्दै ओलीले भने, ‘नेकपा एमाले लोकतान्त्रिक पार्टी हो। यहाँ कसैले चुनाव लड्छु भन्छ भने पाउँछ। लड्नुुस्। लड्न दिनुस्। प्यानल बनाइएको थाहा भयो भने प्यानलको सिंगै उम्मेदवारी पनि खारेज हुनसक्छ।’
उनले अध्यक्ष मण्डललाई समेत यही निर्देशन दिए।
‘प्यानलमा होइन, व्यक्ति लड्छ। प्यानलाइज गर्ने र दुई भागमा विभाजन गर्ने खालका काम कसैले पनि नगरौँ, बन्द गर्नुस्।’
तर, दाहालले सहमति नजुटे प्रक्रियामा जाने बताए।
‘अहिलेसम्म सहमतिमै जाने भनेर छलफल भए पनि टुंगिएको छैन,’ दाहालले भने, ‘नेतृत्वले उचित मूल्यांकन गरे ठिकै हो, नभए प्रक्रियाबाट टुंगो लाग्छ।’
कैलाश ढुङ्गेलले पनि चुनावमा जान तयार रहेको बताए।
‘चुनाव हुने र सहमति हुने दुवै सम्भावना बराबर छ,’ नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘हाम्रो पार्टीले जनवादी केन्द्रीयताको अभ्यास पनि गर्छ, डेमोक्रेटिक विधि पनि अपनाउँछ।’
सर्वसम्मतिमा नेतृत्व टुंगो लगाउन अध्यक्ष ओलीले दिएको निर्देशन लुम्बिनी कमिटीले मानेको थिएन र चुनावबाटै चयन गरिएको थियो। बागमतीमा पनि सहमति हुन गाह्रै देखिएको पोलिटब्युरो सदस्य महेश बस्नेत बताउँछन्।
काठमाडौंको भृकुटीमण्डपमै अधिवेशन भएकोले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अवज्ञा गर्न नेताहरुलाई कठिन पर्ने देखिन्छ।
केही पदमा मात्र चुनाव भयो भने पनि कति उम्मेदवारी पर्छ र कुनकुन समूहबाट पर्छ भन्ने कुराले एमालेको लोकतान्त्रिक अभ्यासमा दुई नेताको शक्तिको जाँच हुने देखिन्छ।
लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेलको शक्ति बढेको भन्दै महासचिव खेमाका नेताहरु बागमतीमा बदला लिने कोसिसमा देखिन्छन्। उनीहरुले सोही अनुसार शक्ति परिचालन गरिसकेका छन्।
स्थायी कमिटीकै नेताहरु पनि ढुंगेलको पक्षमा माहोल बनाउन लागेको नेताहरु बताउँछन्।
Shares
प्रतिक्रिया