नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलले उम्मेदवारी दर्ता गराएका छन्।
यससँगै एमाले बागमतीको नेतृत्व पनि लुम्बिनी प्रदेश कमिटीको जस्तै चुनवाी प्रतिस्पर्धातिर जाने देखिएको छ। नेताहरुले सहमतिको प्रयास गरे पनि सम्भव नभएपछि बिहीबार मतदान गराउने तयारी भएको छ।
रामेछाप जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठको प्रस्तावकमा ढुंगेलले उम्मेदवारी दर्ता गरेका हुन्।
दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन्।
एमाले बागमतीको नेतृत्व सर्वसम्मत टुंग्याउन नसकिएपछि बिहीबार (भोलि) दुईजनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।
एमालेको बागमती प्रदेश अध्यक्षमा दाबी गरिरहेका रामेछापका ढुंगेल बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन्।
वाम गठबन्धनबाट २०७४ मा प्रदेश सभामा निर्वाचित उनी एमाले–माओवादीको गठबन्धन सरकारमा मन्त्री भएका थिए।
प्रतिनिधि सभामा तीनपटक उम्मेदवार बने पनि ढुंगलले चुनाव जित्न सकेनन्।
ढुंगेल ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका पूर्णबहादुर तामाङसँग १६ हजारभन्दा बढी मतान्तरले हारे।
यस्तै, अर्का आकांक्षी दाहाल एमालेका केन्द्रीय सदस्य हुन्। उनी संसदीय राजनीतिका पनि अनुभवी नेता हुन्।
उनी २०४८ सालयता दाहाल निरन्तर निर्वाचित जनप्रतिनिधि छन्। ४ मंसिर २०७९ मा भएको निर्वाचनमा उनी उम्मेदवार बनेनन्।
ओलीका दुई विश्वासपात्र ढुंगेल र दाहालमा को बन्लान् एमालेको बागमती अध्यक्ष?
Shares
प्रतिक्रिया