ad ad

राजनीति


पुराना दललाई रविको चेतावनी- ४ वर्षअघि नै घण्टी बजाएर सचेत गराएको छु, सोच्नुहोला

पुराना दललाई रविको चेतावनी- ४ वर्षअघि नै घण्टी बजाएर सचेत गराएको छु, सोच्नुहोला

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८० शुक्रबार ११:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूलाई अब काम गरेर देखाउने तथा आफ्ना गल्ती सच्याउने अन्तिम अवसर मात्र बाँकी रहेको चेतावनी दिएका छन्। 

देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा बाँकी ४ वर्षलाई लिएर पुराना दलहरूलाई मिलेर काम गर्न सुझाव पनि उनले दिएका छन्। यस अवधिमा जनताको मन जितेर आफूजस्ता नयाँ दललाई असान्दर्भिक साबित गराउन चुनौती पनि लामिछानेले पेस गरेका छन्। 

‘देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईंहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामीबाहेकको सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ’, लामिछानेले भनेका छन्, ‘यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर  तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर, थप अपराधीहरूलाई छुटाउने बचाउने हो, त्यो तपाईंहरूको जिम्मा।’ 

यस्तै उनले ‘मिसन ८४’ भनेर पुराना दलले भनेको फिटिक्कै नसुहाएको टिप्पणी पनि गरेका छन्। 

‘तपाईंको लागि त मिसन ८० नै छ त! मिसन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त! केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन८१, मिसन ८२, मिसन ८३ छँदै छ त’, उनले व्यंग्य गर्दै भनेका छन्, ‘यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामीजस्ता नयाँ, लोकरिझ्याइँवाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनुस्। ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईंहरूलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्।’

चारवटा सही निर्णयले मात्रै पनि  मुलुकमा धेरै सुधार हुनसक्ने उल्लेख गर्दै सभापति लामिछानेले अझै ४/४ वर्ष समय बाँकी रहेकाले निर्णय गरेर देखाइदिन पुराना दललाई आग्रह गरेका छन्। 

अन्त्यमा उनले भनेका छन्, ‘राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ हजुर!! कि तपाईंको कि हाम्रो। ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .