राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोक्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले देशका विभिन्न भू–भागमा धर्म र साम्प्रदायिक दंगा निम्त्याउने प्रयास भइरहेको बताए। उनले धर्म र सम्प्रदायको झण्डाभन्दा देशको झण्डा महत्वपूर्ण भएको भन्दै देशको झण्डा बोक्नुपर्ने बताए। उनले राजनीतिक दलहरुले भोटको राजनीति गरिरहेका भन्दै त्यसले क्षणिक फाइदा मात्रै हुने बताए। विगतमा दल, धर्म र सम्प्रदायको मात्रै झण्डा बोकेको उल्लेख गर्दै उहाँले अब त्यसभन्दा माथि उठ्नुपर्ने बताए।
‘हाम्रो देशको केही भू–भागहरूमा हामी धर्मको लडाँइ गर्दै छौँ। साम्प्रदायिक दंगा निम्त्याउने प्रयासहरू हुँदैछ त्यहाँ। केही दलहरूले, केही राजनीतिज्ञहरूले अहिलेदेखि नै भोटको राजनीति गर्न थालेका छन्। त्यो कसैको लागि फाइदाजनक हुनेछैन,’ उनले भने, ‘केही क्षण कुनै स्वार्थ समूह, केही राजनीतिक समूहको स्वार्थले केहीलाई क्षणिक फाइदा देला। तर आउने सन्ततिले के पाउनेछ? आउने पुस्ताले के पाउँछ? केही वर्ष यो देशमा हामीले दलको झण्डा बोक्यौँ। त्यसपछि हामीलाई सम्प्रदायको झण्डा बोक्न सिकायो। र अहिले धर्मको झण्डा बोक्न सिकाउँदैछ। तर कुनैपनि पुस्तालाई हामीले देशको झण्डा बोक्न सिकाएनौँ। देशको झण्डा बोक जुन धर्म र सम्प्रदायभन्दा महत्वपूर्ण छ भनेर। अहिले पनि देशको झण्डा भन्दा धर्म। तर देशको झण्डा कसले बोकिदिने?’
उनले धर्म र साम्प्रदायिक दंगाबाट बच्न सबै सजग र जिम्मेवार हुनुपर्ने बताए।
Shares
प्रतिक्रिया