नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्कीले सत्ता गठबन्धनले फट्याइँ गर्नसक्ने भन्दै आफूहरू त्यसप्रति सचेत रहेको बताएका छन्।
शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि शनिबार बिहान ८ बजेबाट सनाखत गर्न सांसदहरूलाई बोलाउने भएपछि नेपालखबरसँग कुराकानी गर्दै कार्कीले सो कुरा बताएका हुन्।
‘सत्ता गठबन्धनका अनेक खालका धुत्र्याई फट्याइँ हुनसक्छन्। तर हामी पनि सचेत छौं,’ कार्कीले नेपालखबरसँगको कुराकानीमा भने।
साथै, आफूहरूले दाबी गरेका सांसदहरूलाई शुक्रबार नै सशरीर उपस्थित गराइएको बताउँदै कार्कीले प्रदेश प्रमुखले भनेको प्रक्रियालाई मान्ने बताए।
‘सनाखत वास्तवमा हिजै भइसकेको थियो। आज पनि हामी पुगेको हुनाले यसैलाई मान्दा पनि भइहाल्थ्यो। तर उहाँलाई दुईतिर नाम छ भनेर नमानेपछि हामीले प्रक्रिया मानेका हौं,’ कार्कीले नेपालखबरसँग भने।
कोशीको मुख्यमन्त्रीमा एमालेले कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ। सोही अनुसार ३९ जना एमालेका सांसदहरूको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुखसमक्ष कार्कीले शेखर कोइराला पक्षका अन्य ८ सांसदसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए।
‘प्रदेश प्रमुखले संविधान, कानुन विधि पुर्याएरै गर्नु भएको होला। उहाँले गरेको कुरालाई हामीले के भन्ने र? भोलि बिहान प्रक्रियामा भाग लिन्छौं,’ कार्कीले भने, ‘८ बजेबाट २ बजेसम्म सनाखत भनिएको छ, त्यसमा को कोसले हिजो गरे, त्यो हो कि होइन भनेर प्रमाणित गर्न खोज्नुभएको होला। हामी भोलि प्रमाणित गरिदिन्छौं।’
साथै, उनले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा कुनै समस्या हुनेजस्तो आफूलाई नलाग्ने बताए।
Shares
प्रतिक्रिया