ad ad

राजनीति


मुख्यमन्त्रीमा केदारको नाम हटाउन शेखर नमान्दा कांग्रेस बैठक अनिश्चित

मुख्यमन्त्रीमा केदारको नाम हटाउन शेखर नमान्दा कांग्रेस बैठक अनिश्चित

नेपालखबर
असोज २७, २०८० शनिबार ९:१३, काठमाडौँ

नेता शेखर कोइराला मुख्यमन्त्रीमा केदार कार्कीको विकल्प खोज्न तयार नभएपछि कोशीमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज (शनिबार) बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि अनिश्चित भएको छ। 

पार्टी सभापति शेरबहादुर देउवाले कोइरालासँग संवाद गरेपछि मात्र बैठकका लागि नेतालाई बोलाउने सन्देश पठाएका छन् ।

कोइरालालाई अडानबाट पछि हटाउन नसके बैठक नबस्ने कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

‘शेखरजी अडानमा कायम रहनुभएमा बैठक बसेर अर्थ रहँदैन’, विश्वकर्माले शनिबार बिहान नेपालखबरसँग भने, ‘उहाँ केदारजीलाइ पछि हटाउन तयार भएमात्र नयाँ नाममा सहमति गर्ने हो।’

कोशीको मुख्यमन्त्री बन्न एमालेका ३९ सांसदसँग मिलेर कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्यसहित ४७ जनाको बहुमत हस्ताक्षर बिहीबार प्रदेश प्रमुखसमक्ष बुझाएका छन्।

उनले हस्ताक्षर पेस गरेका नाममा सनाखत गर्न प्रदेश प्रमुखले आज शनिबार दिउँसो २ बजेसम्मको समय दिएका छन्। 

कांग्रेससहितको गठबन्धनले भने कोशीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सार्दै ४७ सांसदकै  हस्ताक्षर प्रदेश प्रमुखकहाँ पेस गरेका छन्। जसमा उता कार्कीका पक्षमा हस्ताक्षर गर्ने ८ सांसद पनि छन्।

कार्कीले पेस गरेका ४७ जनाको हस्ताक्षर सनाखत भएमा उनी मुख्यमन्त्री नियुक्त हुनेछन्। तर यो खबर लेख्दासम्म सनाखत हुन सकेको छैन।

कार्की र आङ्बो दुवैले आफ्ना पक्षमा बराबर बहुमत देखाउँदै मुख्यमन्त्रीको दाबी गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङलाई निर्णय गर्न गाह्रो भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .