प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले गरेको राम्रा कामहरू देख्न नसकेर एकथरी मान्छेहरू कोशी प्रदेशमा षड्यन्त्र गर्न लागेको बताएका छन्।
चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
‘अहिले भर्खरै कोशी प्रदेशमा जुन राजनीतिक परिदृश्य देखिएको छ, यही गठबन्धनले राम्रो गरेको देख्न नसकेर एकथरी मान्छेहरू यहाँभित्र खेल्न सकिन्छ कि भनेर, यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भनेर योजना अन्तर्गत ती कामहरू भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने।
सो षडयन्त्रलाई कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेर सहमति गरिएको उनले बताए।
‘हिजो कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको हैसियतमा म आफैं र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच एउटा सहमति गरेपछि त्यो षड्यन्त्रलाई पनि निस्तेज पारिएको छ,’ उनले भने।
साथै, प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धन आगामी ५ वर्षसम्म पूर्ण कार्यकाल चल्ने दाबी गरे।
‘यो गठबन्धन पूर्ण कार्यकाल राष्ट्र र देशका लागि काम गर्ने प्रतिवद्धता गरेका छौं। चितवन महानगरपालिकाको पनि विकास यही दिशाबाट अघि बढ्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले देशभित्र र बाहिर रहेका नेपालीको हितमा सरकारले काम गरिरहेको दाबी गरे।
‘मैले खाली देशभित्र र बाहिर रहेका नेपालीको हितमा, देशबाहिर रहेका नागरिकको नागरिकता र मतदानको सुनिश्चित गर्नका लागि सरकारले पहल अगाडि बढाएको छ,’ उनले भने।
वर्तमान सरकारले क्रान्तिकारी कदम चालेको उनको भनाइ थियो।
‘भारत भ्रमणको क्रममा होस् वा राष्ट्रसंघको सम्मेलन, महासभा र चीनमा जे जस्ता सझदारी भएका छन् त्यसले नेपालको स्वतन्त्रता र असंलग्न परराष्ट्र नीतिलाई नयाँ उचाइमा पुगेको छ,’ उनले भने।
एकथरी मान्छेहरु गठबन्धनलाई कमजोर पार्ने, उल्ट्याउने खेलमा लागेको भन्दै उनले अघि भनेका छन्, ‘यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्याको पक्षमा र देशको राष्ट्रिय स्वाधिनतालाई मजबुद बनाउने प्रक्रिया हो। यसबाट कहिल्यै सत्तामा फर्कन पाइँदैन कि भनेर विक्षिप्त भएको पनि महसुस गर्नुभएको होला।’
Shares
प्रतिक्रिया