ad ad

राजनीति


नेपालीको शव इजरायलकै सरकारले ल्याउने प्रतिबद्धता जनाएको छ : परराष्ट्रमन्त्री साउद

‘इजरायलबाट फर्कन चाहनेको विमान खर्च सरकारले नै ब्यहोर्छ’
नेपालीको शव इजरायलकै सरकारले ल्याउने प्रतिबद्धता जनाएको छ : परराष्ट्रमन्त्री साउद

नेपालखबर
असोज २८, २०८० आइतबार १८:०, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले हमासको आक्रमणमा परी इजरायलमा निधन भएका १० जना नेपालीको शव इजरायली सरकारले नै नेपाल ल्याएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको बताएका छन्। 

राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीका क्रममा मन्त्री साउदले सबै शवको परीक्षण गरी कानुनी प्रक्रिया अनुसार सम्बन्धीत देशलाई इजरायल सरकारले हस्तान्तरण गर्ने बताएका हुन्।

इजरायलका विदेश मन्त्री र इजरायली राजदूतसँग भएको संवादमा पनि उनीहरूले सो कुरा दोहोर्‍याएको मन्त्री साउदले बताए।

‘सबै शवको परीक्षण गरी कानुनी प्रक्रियाअनुसार सम्बन्धीत देशलाई हस्तान्तरण गर्ने इजरायल सरकारले जनाएको छ। यस बारेमा इजरायल सरकारले आफू संवेदनशील भएको र आफै ती शव नेपाल ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ,’ मन्त्री साउदले भनेका छन्।

निधन भएका १० जनाकै शव सुरक्षित रहेको त्यहाँको सरकारले स्पष्ट पारेको पनि मन्त्री साउदले बताएका छन्। 

नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काइसकेको छ।

मन्त्रिपरिषद्को निर्णयानुसार परराष्ट्र मन्त्री नारायणप्रकाश साउद नेपाली नागरिकलाई उद्धार गर्न नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत् स्यवम् इजरायल गएका थिए।

इजरायलबाट नेपाल फर्कन चाहेका दुई सय जनाभन्दा बढीको विवरण प्राप्त भएको र उनीहरू फर्कनका लागि सहजीकरण प्रक्रिया सुरु भएको पनि उनले बताएका छन्। 

‘नेपाल फर्काइएका बाहेक स्वदेश फर्कन चाहने दुई सय जनाभन्दा बढीको विवरण प्राप्त भएको छ। नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रकृया सुरु गरिएको छ,’ साउदले भने। 

उनका अनुसार सो आक्रमणमा परी उपचारका क्रममा रहेका चार जनामध्ये डिस्चार्ज भएका एक जनालाई सोही चार्टर विमानमार्फत नेपाल ल्याइएको हो। 

त्यस्तै, हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको पनि खोजी तिव्र गतिमा भइरहेको मन्त्री साउदले बताए। 

‘बेपत्ता विद्यार्थी जोशीको खोजी तीव्रता दिइएको छ। इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्न चाहन्छु,’ साउदको आग्रह छ। 

जोशीको खोजीका लागि इजरायल सरकार र अन्य मुलुकसँग समेत कूटनीतिक पहल भइरहेको पनि उनले बताए। साथै, ती व्यक्ति हमासको नियन्त्रणमा हो कि भन्ने आशंकाका आधारमा कूटनीतिक पहल पनि सुरु भएको उनले बताए। 

इजरायलबाट फर्कन चाहेने नेपालीको खर्च पनि सरकारले नै ब्यहोर्ने उनले बताए।

‘व्यावसायिक उडानमार्फत आउने नागरिकको खर्च सरकारले नै बेहोर्ने निर्णय भएको छ। यस बारेमा हामीले सूचना पनि जारी गरेका छौँ,’ साउदले भने, ‘स्वदेश फिर्ता गर्नका लागि हामीले त्यहाँस्थित नेपाली दूताबासलाई निर्देशन दिइसकेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .