नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘डढेलो’ बन्न नदिन संयम र परिपक्वता राख्न आग्रह गरेका छन्।
सामाजिक सञ्ञाल एक्समा लामो स्टाटस राख्दै महामन्त्री शर्माले अहिलेको गठबन्धन छाडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गर्नपर्ने बताउँदै उनले बोकिरहनुपर्ने नभएको उल्लेख गरेका छन्।
‘संस्थागत निर्णय नगरी हामी कसैलेपनि आवेगमा कुनै निर्णय लिनुहुन्न,’ शर्माले भनेका छन्, ‘सल्लाहले ‘डिभोर्स’ गर्नमिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न ‘पुस १०’ पनि नबिर्सौं।’
साथै, महामन्त्री शर्माले कोशी प्रदेश ढुक्कै कांग्रेसको भागमा, कर्णाली माओवादीको या मधेस पूरै जसपाको भागमा भन्ने कुनैपनि सहमति नभएको पनि बताएका छन्।
‘कोशी ढुक्कै कांग्रेसको भागमा,कर्णाली माओवादीको या मधेस पुरै जसपाको भन्ने कुनै सहमति भएको छैन। सबै प्रदेशमा आलोपालो हुने हो। परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छ,’ उनले भनेका छन्, ‘गठबन्धन कि गर्नुहुन्न,गरेपछि राम्रो(नराम्रो सबै ब्यहोर्नुपर्छ। एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ।’
महामन्त्री शर्माले व्यक्ति चयनमा संस्थागत प्रक्रिया सभापतिले नअपनाएको आरोप पनि लगाएका छन्। साथै, फरक विचार समूहको नेताले आफ्नो समूहभित्रको साझा मत समेत नखोजेको उनले बताए।
उनले सामाजिक सञ्जालमा लेखेका छन्:
`कोशी घटना´ लाई `डढेलो´ बन्न नदिन संयम र परिपक्वता राखौं!
`गणितीय जटिलता´ अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृस्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो- `कोशीमा एमाले सहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर´
कांग्रेस, माओवादी र `एस´को गठबन्धन संसद विघटनविरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो l कांग्रेसको संस्थागत निर्णय पनि यहि होl पुस १० मा टुटेपछी विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौंl तर पार्टीको संस्थागत निर्णय मान्यौंl
यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौंl सँधै यो बोकिरहनुपर्छ, जरुरी छैनl तर संस्थागत निर्णय नगरी हामी कसैलेपनि आवेगमा कुनै निर्णय लिनुहुन्नl
सल्लाहले `डिभोर्स´ गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्नl `पुस १०´ पनि नबिर्सौैl
माओवादीको यक्ष प्रश्न- कोशिमा एमाले नेतृत्वको सरकार छोड्यौं, सभामुख छोड्यौं, काँग्रेसलाई दुइपटक `ब्ल्याङ चेक´ दियौंl तेस्रोपटकमा हामीले किन नपाउने?
कांग्रेसको एउटा गुटपछि अर्कोले पालो पाउनुपर्ने तर हामीले नपाउनु पर्ने ? यो गठबन्धन दलहरुको कि गुटहरुको?
कोशी ढुक्कै कांग्रेसको भागमा,कर्णाली माओवादीको या मधेस पुरै जसपाको भन्ने कुनै सहमति भएको छैनl सबै प्रदेशमा आलोपालो हुने होl परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छl
गठबन्धन कि गर्नुहुन्न,गरेपछि राम्रो-नराम्रो सबै ब्यहोर्नुपर्छl एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छl
सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति होl गणितनै त्यस्तो छ- एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैनl यस्तो बेला नेतृत्वले निरन्तर संवाद मार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छl
अनि जरुरी छ गम्भीर आत्मसमिक्षा!
व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनु भयो, न `फरक विचार समुहको नेता´ले आफ्नै समुहभित्र `साझा मत´ खोज्नुभयोl थोरै फरक, करिब उस्तै शैलिले पार्टीको हित हुन्नl
जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस्l हामी बदलिन तयार छौंl पार्टीको हित तपाईंहामी बदलिनुमा सन्निहित छl
Shares
प्रतिक्रिया