ad ad

राजनीति


बीआरआई फोरममा नेपाल : वाम सरकार हुँदा राष्ट्रपति, गठबन्धन हुँदा उपप्रधानमन्त्री

बीआरआई फोरममा नेपाल : वाम सरकार हुँदा राष्ट्रपति, गठबन्धन हुँदा उपप्रधानमन्त्री

नेपालखबर
असोज २९, २०८० सोमबार १६:४५, काठमाडौँ

नेपालको आन्तरिक राजनीतिको असर चीनले आयोजना गर्दै आएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी फोरम (बीआरएफ) मा कसरी पर्छ? के नेपालमा वाम सरकार हुँदा अलग स्तर र गठबन्धन हुँदा अलग स्तरबाट बीआरएफमा नेपालको प्रतिनिधित्व हुन्छ?

बीआरआई फोरममा नेपालबाट हुने प्रतिनिधित्व र चीनबाट आउने निम्तोको सूची हेर्ने हो भने नेपालले पनि भूराजनीतिक माहौल ख्याल गरेर आफ्नो प्रतिनिधि पठाउने र चीनले पनि यहाँको आन्तरिक राजनीतिलाई मध्यनजर गर्दै भ्रमणको निम्तो दिने गरेको रोचक तथ्य भेटिन्छ। 

चीनको राजधानी बेइजिङमा १७–१८ अक्टोबर (३० असोज–१ कार्तिक) मा हुने गरी चीनले तेस्रो बीआरएफ आयोजना गरेको छ। यसअघि पहिलो बीआरएफ १४–१५ मे २०१७ (३१ वैशाख–१ जेठ २०७४) मा आयोजना भएको थियो। दोस्रो बीआरएफ २५–२६ अप्रिल २०१९ (१४–१५ वैशाख २०७६) मा भएको थियो।
 

बीआरआईको पहिलो फोरम हुँदा नेपालमा कांग्रेस र माओवादी सहितको सरकार थियो। दोस्रो बीआरआई फोरमका बेला भने एमाले र माओवादी केन्द्र (वाम गठबन्धन) सरकारमा थिए। पहिलो बीआरएफका बेलाजस्तै अहिले पनि कांग्रेस–माओवादीसहितका दलहरुकै सरकार छ।  

अहिलेजस्तै बीआरआईको पहिलो फोरमका बेला कांग्रेस–माओवादी केन्द्रसहितका दलहरुको संयुक्त सरकारको नेतृत्व माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए।  

संयोगवश दुवै पटक प्रधानमन्त्री भएका बेला प्रचण्डले फोरममा नेपालको प्रतिनिधित्वका लागि आफ्नो पार्टीको उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्रीलाई पठाएका छन्। 

नेपाल : भूराजनीतिप्रति अप्रत्यक्ष सतर्कता  
पहिलो फोरममा प्रचण्डले तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई नेपालको प्रतिनिधित्व गर्ने गरी बेइजिङ पठाएका थिए। यसपटक तेस्रो फोरममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दैछन्। 

उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष छन्। महरा पनि त्यो बेला पार्टी उपाध्यक्ष थिए।  

चीनले बीआरआईको पहिलो फोरम आयोजना गर्दा खासै ठूलो भूराजनीतिक चुनौतीको सामना गर्नु परेको थिएन। तल्लो स्तरका भए पनि अमेरिकाले समेत आफ्नो प्रतिनिधि पठाएको थियो। 

बीआरआई अन्तर्गतकै चाइना–पाकिस्तान इकोनोमिक करिडोर (सीपेक) को सडकखण्ड भारत–पाकिस्तानबीचको विवादित क्षेत्रमा पनि पर्ने भएकाले भारतले भने पहिलो फोरम बहिस्कार गरेको थियो। जबकि उसलाई पनि चीनले पहिलो फोरमका लागि निम्तो दिएको थियो। 

पहिलो फोरममा सबैजसो महादेशका राष्ट्रप्रमुख वा सरकार प्रमुखहरुले प्रतिनिधित्व गरेका थिए। फोरममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससहित २९ मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले सहभागिता जनाएका थिए। 

यति ठूलो राजनीतिक जमघट हुँदासमेत नेपालको तर्फबाट भने राष्ट्रप्रमुख वा सरकार प्रमुख सहभागी भएनन्। उपप्रधानमन्त्री तहका अधिकारीलाई फोरममा भाग लिन बेइजिङ पठायो।   

यद्यपि, बीआरआईले त्यो बेला त्यति ठूलो भूराजनीतिक चुनौतिको भुमरीको सामना गर्नु नपरेकाले हुनसक्छ, पहिलो फोरममा नेपाली कांग्रेसका मन्त्रीसमेत सहभागी थिए। कांग्रेस नेता एवं तत्कालीन भौतिक पूर्वाधारमन्त्री रमेश लेखक पहिलो फोरममा सहभागी हुन महरासँगै बेइजिङ पुगेका थिए। 

माओवादी केन्द्रका नेता तत्कालीन सूचना तथा सञ्चारमन्त्री राम कार्की पनि सो फोरममा सहभागी भएका थिए। 

यसपटकको तेस्रो फोरममा माओवादी केन्द्रको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने उर्जामन्त्री शक्ति बस्नेत र एकीकृत समाजवादीको प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई पनि भ्रमणको निम्तो आएको थियो।

तर, प्रधानमन्त्री प्रचण्डले मन्त्री बस्नेत र ज्वालालाई पठाउन चाहेनन्। जबकि दुवै मन्त्री फोरममा सहभागिताका लागि इच्छुक थिए। सम्भवतः उपप्रधानमन्त्रीका साथ थप दुई मन्त्रीलाई पठाउँदा बीआरआईलाई नेपालले धेरै महत्व दिएको देखिने भएकाले होला। 

दोस्रो फोरममा भने नेपालमा कम्युनिस्टहरुको सरकार थियो। त्यसैले, नेपालले त्यो बेला भूराजनीतिको त्यति ख्याल गरेन र राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै नेपालको प्रतिनिधित्व गर्दै बेइजिङ पठायो। 

राष्ट्रपति भण्डारीको साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि  सहभागी भए। 

चीन : आन्तरिक राजनीतिको ख्याल 
नेपालले भूराजनीतिको ख्याल गरेजस्तै चीनले नेपालको आन्तरिक राजनीतिलाई मध्यनजर गर्दै फोरममा सहभागिताका लागि निम्तो दिने गरेको देखिन्छ। 

जस्तो : बेइजिङबाट निमन्त्रणा पाएकैले पहिलो फोरममा कांग्रेस नेता (मन्त्री) लेखकको सहभागिता सम्भव भएको थियो। तर, यसपटक कांग्रेसका कुनै पनि मन्त्रीले सहभागिताका लागि निम्तो पाएनन्। 

बरु, उपप्रधानमन्त्री श्रेष्ठका अलावा कम्युनिष्ट मन्त्रीहरु शक्ति बस्नेत (माओवादी केन्द्र) र प्रकाश ज्वाला (एकीकृत समाजवादी) लाई उसले निमन्त्रणा पठायो। 

पहिलो फोरममा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सहभागिताको निम्तो पाएका थिए। तर, पहिलो फोरमभन्दा केही अघिमात्र चीन भ्रमण गरेकाले उनी फोरममा सहभागी भएनन्। 

प्रचण्ड हाइनान प्रान्तको बोआओमा २०७३ चैत्र दोस्रो हप्ता सम्पन्न बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागी थिए। बोआओपछि उनी बेइजिङको औपचारिक भ्रमणमा गए। त्यही कारण बेइजिङमा भएको बीआरआईको दोस्रो फोरममा उनी सहभागी भएनन्।  

यसपटकको फोरमका लागि पनि उनलाई निमन्त्रणा प्राप्त भएको हो। तर, गत महिना हाङ्जाओमा सम्पन्न एसियाली खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागितासँगै चीनको औपचारिक भ्रमण गरेकाले यसपटक पनि उनै आफै बीआरआई सहभागी भएनन्। 

प्रधानमन्त्री सहभागी हुन नसक्ने स्थितिमा चीनले राष्ट्रपतिलाई निमन्त्रणा दिन नसक्ने होइन। आखिर २०७५ असारमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गरिसकेकाले बीआरआईको दोस्रो फोरममा राष्ट्रपति भण्डारीलाई सहभागिताको अवसर जुरेको थियो। 

यसपटक पनि एक महिनाअघि नै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण भयो। यस्तो स्थितिमा प्रधानमन्त्री फेरि दोस्रो बीआरआई फोरमका लागि बेइजिङ जानु सुहाउँदो हुँदैन। 

संभवतः दसैं पनि परेकाले स्वास्थ्य समस्यासमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई तेस्रो फोरममा सहभागिताका लागि निम्तो दिइएन। पहिलो राष्ट्रपति डा. रामवरण यादव पनि दुई–दुई पटक चीन भ्रमण त गए। तर, राजधानी बेइजिङ जाने अवसर उनलाई पनि जुरेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .