ad ad

राजनीति


एमालेमा अराजकता बढ्यो, नियन्त्रण गर्नु पर्नेछ : ओली

एमालेमा अराजकता बढ्यो, नियन्त्रण गर्नु पर्नेछ : ओली

नेपालखबर
कात्तिक १, २०८० बुधबार १९:४९, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिएका छन्।

पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने जस्ता उच्छृङ्खल, अराजक गतिविधि भईरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताले अनुशासन पालना गरेर अघि बढ्नुपर्ने बताए।

पार्टी निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र आफूलाई केही देखाउनका लागि अनुशासनहिनताको सहारा लिने, उच्छृङ्खलताको सहारा लिने प्रवृत्ति बढिराखेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरेर अघि बढ्ने बताए।

उनले भने, ‘जति अनुशासनहीन भयो, जति उछृङ्खल भयो, जति जथाभावी बोल्यो, त्यति के हुने हो, थाहा छैन। महान हुन खोजेको होला। त्यो प्रवृत्ति छ एउटा। आफूलाई कुछ देखाउनका लागि अनुशासनहिनताको सहारा लिने, उछृङ्खलताको सहारा लिने प्रवृत्ति बढिराखेको छ। आफूलाई अरु भन्दा केही पृथक देखाउने। त्यसप्रकारका प्रयासहरु भईरहेका छन्। त्यसलाई हामीले नियन्त्रण गर्नुछ। अनि, मात्रै सभ्य समाज, अनुशासित समाज बनाउन सकिन्छ। प्रकृति अनुशासन हो।’

ओलीले देशमा, समाजमा अराजकता फैलिएकाले त्यसलाई नियन्त्रण गर्न र अनुशासनको पाठ सिकाउने काममा भुतपूर्व सैनिक तथा प्रहरीहरुको भूमिका महत्वपूर्ण हुने समेत बताए।

उनले भने, ‘अहिले समाजमा एउटा अराजकता बढेको छ। असहिष्णुता बढेको छ। त्यसले समाजलाई परस्परमा घृणा फैलाउने कामहरु भईराखेको छ। त्यसले एकातिर राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भईराखेको छ। विभिन्न खालको संकीर्णता, विभिन्न गैरजिम्मेवार खालका अभिव्यक्तिहरु, तरिकाहरु, शैलीहरु यिनीहरुले। अर्कातिर, समाज विकृति, गैरजिम्मेवार भईराखेको छ। यस्तो अवस्थामा जिम्मेवारीबोध कसरी गराउने? मान्छेलाई अनुशासित ढंगले कर्तव्य पालनामा लाग्नु पर्छ भन्ने कुरा कसले बुझाउने, कसरी बुझाउने? यस कुरामा अनुशासन सिकेर, अनुशासनको पालना गरेर, अनुशासन व्यवहारमा कार्यान्वयन गरेर आएका भूतपूर्व सैनिक र प्रहरी जति यो कुरा सिकाउनका लागि उपयुक्त अरु कोही हुन सक्दैन।’

अध्यक्ष ओलीले मुलुकमा समस्याहरु रहेकाले त्यसको समाधानका लागि एमाले क्रियाशील भईरहेको दाबी समेत गरे। एमालेले मुलुकको समस्या समाधानका लागि सिंगो शक्तिलाई परिचालन गरिरहेको उनको जिकिर थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .