ad ad

राजनीति


माधव नेपाललाई कमल थापाको खुलापत्र : सक्नुहुन्छ जनमत संग्रह गर्न?

माधव नेपाललाई कमल थापाको खुलापत्र : सक्नुहुन्छ जनमत संग्रह गर्न?

फाइल फाेटाे : राप्रपा नेपालका अध्यक्ष कमल थापा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल


नेपालखबर
कात्तिक १, २०८० बुधबार २१:१७, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले खुलापत्र लेख्दै प्रतिवाद गरेका छन्। 

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले पूर्वराजा ज्ञानेन्द्रको आलोचना गरेका थिए। 

त्यसको जवाफमा पत्र लेख्दै राप्रपा अध्यक्ष थापाले अरूलाई राजसंस्थाको विरोध गर्ने अधिकार भएजस्तै आफूहरूलाई पनि राजतन्त्रको पक्षमा बोल्ने अधिकार भएको उल्लेख गरेका छन्। 

जनताले गणतन्त्र र धर्मनिरपेक्षता मन पराइरहेका छन् कि राजसंस्था हिन्दुराष्ट्र भन्ने विषयमा जनमत संग्रह गरेर हेर्न राप्रपा अध्यक्ष थापाले पूर्वप्रधानमन्त्री नेपाललाई चुनौती दिएका छन्। 

‘यदि तपाईलाईं संघीय गणतन्त्र र धर्मनिरपेक्षता साह्रै लोकप्रिय छ, जनताले खोजेका छन् भन्ने लाग्छ भने एकपटक यो विषयमा जनतालाई नै सोधौँ न। हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र संघीयता वा अखण्ड नेपालमध्य के राख्ने भन्नेबारे जनमत संग्रह गरौँ। सधैँको लागि यो विवादको छिनोफानो गरौँ’, थापाले पत्रमा लेखेका छन्, ‘वर्तमान संविधानमा पनि जनमत संग्रहको प्रावधान छ। तपाईं स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ। सक्नुहुन्छ– जनमत संग्रह गर्न? यो राजावादीको तर्फबाट तपाईंलाई चुनौती भयो माधवजी।’ 

यस्तो छ कमल थापाले लेखेको खुलापत्र

प्रिय माधवजी, राजालाई चुनाव लड्न आऊ भन्नुभएको समाचार सुनेँ। डेढ दशकदेखि राज्यसत्ता छोडेर स्वतन्त्र र सचेत नागरिकको जीवन निर्वाह गरिरहनुभएका राजा ज्ञानेन्द्रलाई गाली गरेर वा उहाँको राष्ट्रप्रतिको चिन्तालाई आलोचना गरेर लोकप्रिय भइन्छ भन्ने भ्रमबाट पूर्वप्रधानमन्त्रीसमेत भइसकेको तपाईं अझै मुक्त हुन नसकेको देख्दा उदेक लागेको छ।

२०६२/६३ को आन्दोलन दरबारसँग सम्झौता गरेर टुङ्गिएको घटनाको तपाईं स्वयं साक्षी हुनुहुन्छ। राजा ज्ञानेन्द्रबाट २०६३ वैशाख ११ गते राति भएको घोषणाको मस्यौदाकारमध्ये तपाईं पनि एक हुनुहुन्छ। त्यसबेला राजासँग भएको भद्र सहमतिको उल्लंघन गरेर विदेशीको दबाब र प्रभावमा षड्यन्त्रपूर्वक राजसंस्था पाखा लगाएर खडा गरिएको संघीय गणतन्त्र अहिले भ्रष्ट व्यवस्थामा रुपान्तरण भएको छ।

ललिता निवास जग्गाकाण्ड, सुन तस्करी र नक्कली भुटानी शरणार्थी काण्डलगायतका दर्जनौँ भ्रष्टाचार काण्डमा स्वयं प्रधानमन्त्री, मन्त्री र सरकार नै संलग्न रहेका छन्। सायद तपाईंको पनि नाम मुछिएको छ।

अहिले चुनाव लड्न, सत्तामा पुग्न र पुगेपछि सरकार टिकाउन विदेशीको नेपालमा आशीर्वाद र सहयोग लिने आत्मसमर्पणवादी प्रवृत्ति हावी भएको छ।

देशभित्र सामान्य जागिर नपाएर लाखौँ युवाहरु विदेशिन बाध्य भएका छन्। 

धर्मपरिवर्तनको डढेलोले देश आक्रान्त भएको छ। 

यो अवस्थामा जनताले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति खोजेका छन्। नैतिक शक्ति बोकेको साझा अभिभावकको रुपमा राजसंस्था खोजेका छन्। त्यसैले राजसंस्थाको लोकप्रियता बढेको छ।

वंश परम्परामा आधारित राजसंस्था तपाईंलाई मन नपरेको होला। तपाईंलाई त्यस्तो धारणा राख्ने अधिकार भएजस्तै राजासहितको प्रजातन्त्र नेपालको निम्ति उपयुक्त हुन्छ भन्ने अधिकार हामीलाई पनि छ।

यदि तपाईलाई संघीय गणतन्त्र र धर्मनिरपेक्षता साह्रै लोकप्रिय छ, जनताले खोजेका छन् भन्ने लाग्छ भने एकपटक यो विषयमा जनतालाई नै सोधौँ न। हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र संघीयता वा अखण्ड नेपालमध्ये के राख्ने भन्नेबारे जनमत संग्रह गरौँ। सधैँको लागि यो विवादको छिनोफानो गरौँ। वर्तमान संविधानमा पनि जनमत संग्रहको प्रावधान छ। तपाईं स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ। सक्नुहुन्छ- जनमत संग्रह गर्न? यो राजावादीको तर्फबाट तपाईंलाई चुनौती भयो माधवजी।

तपाई‌ंको मित्र- कमल थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .