ad ad

राजनीति


प्रधानमन्त्रीसँग एनआरएनए शर्मा समूहको भेट, एकताका लागि सरकारले सहजीकरण गर्छ : प्रचण्ड

प्रधानमन्त्रीसँग एनआरएनए शर्मा समूहको भेट, एकताका लागि सरकारले सहजीकरण गर्छ : प्रचण्ड

नेपालखबर
कात्तिक ५, २०८० आइतबार २१:११, काठमाडौँ

गैरआवासीय नेपाल संघ (एनआरएनए)को असन्तुष्ट समूहको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ। असन्तुष्ट पक्षका तर्फबाट शनिबार बनाइएको कार्यसमितिका अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणको लागि तयार रहेको बताए । 

‘एनआरएन अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘देश विकासका मुद्दामा सरकार सदैव गैरआवासीय नेपालीसँग सहकार्य गर्न तयार छ।’

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरूको मागअनुसार नागरिकता विधेयक कार्यान्वयनमा आएर गैरआवासीय नागरिकता दिन थालिएको र आगामी दिनमा विदेशबाट नेपाली मत दिन पाउने व्यवस्था कार्यान्वयन हुने बताए। 

नेपालमा लगानीका अनेकौँ अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले लगानी गर्न सुझाव पनि दिए। उनले मुलुकको समृद्धिमा गैरआवासीय नेपालीको महत्त्वपूर्ण भूमिका हुने भन्दै समृद्धिको यात्रामा सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे।

सो अवसरमा असन्तुष्ट समूहका अध्यक्ष शर्माले संघ सरकारसँगको सहकार्य गर्न तयार रहेको बताए। आफूहरू गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउने अभियानमा रहेको उनको भनाइ थियो।

उक्त भेटमा कुल आचार्य,महेश श्रेष्ठ, गोविन्द श्रेष्ठ,गंगाधर गौतम, बुद्धिसागर सुवेदी, प्रविन गुरुङ,टंक गैरे, मनोज श्रेष्ठ गोर्खाली, ठाकुर ढुंगाना, डीबी क्षेत्री, नारायण आचार्य, चिन्तामणि सापकोटालगायत अभियन्ताहरू सहभागी थिए।

शर्मा नेतृत्वको टोलीले आइतबार नै अर्थमन्त्री प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो।

एनआरएनएको ११औँ महाधिवेशनमा पराजित भएपछि आइतबार शर्मासहितको टोलीले आफैलाई विजेता घोषणा गरी नयाँ कार्यसमिति घोषणा गरेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .