ad ad

राजनीति


निर्वाचन महँगो भयो, समानुपातिक प्रणाली मात्रै राखौँ : सांसद खातुन

निर्वाचन महँगो भयो, समानुपातिक प्रणाली मात्रै राखौँ : सांसद खातुन

नेपालखबर
कात्तिक ६, २०८० सोमबार १६:३८, काठमाडौँ

नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचनका बेला नेताहरुले मतदातासमक्ष गरेका वाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताएकी छन्।

सांसदसँग रासस संवादमा उनले चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवासुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालय मन्त्रालयमा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राखिन्।
     
नेत्री खातुनले विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न नसके तापनि सडक र खेल मैदानका लागि आफूले गरेको प्रयासको मतदाताले प्रशंसा नै गरेको प्रतिक्रिया दिइन्।
     

मतदाताले कानुन निर्माणमा कति प्रगति भयो तथा बाँकी के–कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय सङ्ख्यात्मक संरचनाले तीव्ररुपमा कानुन निर्माणमा चुनौती खडा गरेको बताइन।
    
हिउँदे र बर्खे अधिवेशन सकिँदासम्म जति कानुन निर्माण गर्नुपर्ने हो त्यो नभएकामा आलोचना भइरहेको बताउँदै उनले जनताका आवाज र कानुन निर्माणलाई सबै राजनीतिक दलले साझा एजेण्डा बनाउनपर्ने विचार प्रकट गरिन्।

सांसद खातुनले भनिन्, ‘स्वार्थको राजनीतिक कारण एकअर्काको अस्थित्व र उपस्थितिलाई अस्वीकार गर्ने, हस्तक्षेप गर्ने, सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आआफ्नो स्वार्थ रहने परिस्थितिले कानुन तर्जुमालाई तीव्रता दिन चुनौती खडा भएको छ।’
    
नेत्री खातुलनले सदनमा मर्यादापूर्व प्रस्तुत हुने, सोच विचार गरी वक्तव्य दिने र अनुशासनमा रही गौरव गर्न लायक अगुवा हुनपर्नेमा सस्तो लोकप्रियताका लागि नियमापत्ति गर्ने, आरोपप्रत्यारोप मात्र नभई सभामै कपडा खोल्नेजस्ता कार्य सुहाउँदो विषय नभएको टिप्पणी गरिन्। जनप्रतिनिधि हुनुका नाताले सांसदले जनताको आशा र भरोसा कायम राख्न जरुरी भएको बताउदै कांग्रेस केन्द्रीय सदस्य खातुनले विकास निर्माण, डुबान, नदी कटानका अतिरिक्त बर्दियामा मानव र वन्यजन्तुबीचको द्वन्द्व प्रमुख समस्या रहेको जानकारी दिइन्।
     
उनले भनिन्, ‘विकास निर्माण त गर्दै गरौँला सबैभन्दा पहिला मानिस बाँच्न पर्यो। जल्दाबल्दो समस्या त्यही हो। बाढी पनि समस्याकैरुपमा छ। पुल आवश्यक छ।’

खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्टाचार निवारणका लागि चुनौती खडा गरेको विचार प्रकट गर्दै सांसद खातुनले चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पुर्याएको धारणा राखिन्।
 
हालको मिश्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसाबले निकै किफायत हुने व्यक्तिगत धारणा रहेको बताउँदै उनले यसमा दलका शीर्ष नेताहरुले समयमै ध्यान पुर्याउन आवश्यक रहेको सुझाव दिइन्।
     
विचारमा बलियो र निष्ठावान् भए पनि पैसा नहुने नेता तथा कार्यकर्ताले अवसर नै प्राप्त गर्न कठिन रहेको उदाहरण प्रस्तुत गर्दै नेत्री जागाले गरिब र जनताको सेवामा समर्पित व्यक्ति अघि बढ्न नसक्ने अवस्था सिर्जना भएको बताइन्।

मुलुकको शिक्षा क्षेत्र र उद्योगधन्दा पर्वर्दनमा राज्यले लगानी बढाएर गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्न आवश्यक रहेको जनाउँदै उनले देशभित्रै स्वरोजगारमुखी सबैखाले विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी रहेको विचार व्यक्त गरिन्।

प्रतिनिधिसभा महिला, बालबालिका तथा समाजकल्याण समिति सदस्यसमेत रहनुभएकी सांसद खातुनले बर्दिया सबैखाले समुदायबीच हार्दिकता र  सामाजिक सद्भाव कायम गरेको नमुना जिल्लाका रुपमा स्थापित रहेको विश्वास व्यक्त गरिन्।

उनले भनिन्, ‘सबै समुदायबीच धार्मिक, सामाजिक, भाषिक र सांस्कृतिक सद्भाव कायम छ, एक अर्काको धर्म, संस्कृति र चाडपर्वलाई सम्मान गर्दै सबै समुदायको चाडपर्वमा सबै सहभागी हुने शुभकामना आदानप्रदान गरी भाइचाराको सम्बन्ध कायम गरेका छौँ।’ रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .