कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की केन्द्रीय गठबन्धनमा आबद्ध दललाई पनि मिलाएर मन्त्रिमण्डल विस्तारको तयारीमा लागेका छन्।
कात्तिक १ गते विश्वासको मत दिने सबै दललाई सरकारमा समेट्नुपर्ने पक्षमा मुख्यमन्त्री कार्की उभिएका छन्।
कोशी प्रदेश सभामा रहेका राप्रपाबाहेकका दलले कार्कीको पक्षमा मत दिएका थिए।
तर, नेकपा एमालेले भने कांग्रेसबाहेकका कुनै पनि दललाई सरकारमा सहभागी गराए स्वीकार्य नहुने बताएको छ।
हिजो बुधबार मुख्यमन्त्री कार्कीलाई भेटेर एमालेका नेताहरूले तत्काल सरकार विस्तार गर्न र पूर्वसहमति पालना गर्न ध्यानाकर्षण गराएका छन्।
कोशी प्रदेश सभा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी भन्छन्, ‘हामीले उहाँलाई मुख्यमन्त्री बनाउँदा जे सहमति भएको छ, त्यसैअनुसार कार्यान्वयन होस् भनेका छौँ। यदि गठबन्धनलाई सामेल गराए हामी फिर्ता हुन्छौँ।’
‘गठबन्धनलाई सरकारमा ल्याए हामी तत्काल सरकार छाड्छौँ र प्रतिपक्षमा बस्छौं,’ भण्डारीको भनाइ छ, ‘हाम्रो बटमलाइन केन्द्रको जस्तै गठबन्धन सरकारमा सहभागी हुनुहुँदैन भन्ने हो।’
मुख्यमन्त्री कार्की भने सहमतीय सरकारको लागि प्रयास गरिरहेको बताउँछन्।
‘सरकारमा सहभागी हुन गठबन्धनलगायत दललाई आह्वान गरिसकेको छु,’ कार्कीले नेपालखबरसँग भने, ‘सरकारमा सबै दल सहभागी हुने सम्भावना छ।’
उनले अगाडि थपे, ‘सहमतिकै प्रयासका लागि हतारहतार सरकार विस्तार नगरेको हुँ। अब छिट्टै विस्तार गर्छु।’
एमालेका ३९ सांसदको सहयोगमा नेपाली कांग्रेसबाट ८ सांसद लिएर असोज २७ मा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्।
उनले असोज २८ गते एमाले संसदीय दलका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गर्ने ८ मध्ये सांसद शमशेर राईलाई बिनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरे।
बाँकी मन्त्रिमण्डल विस्तारको लागि एमालेले मुख्यमन्त्री कार्कीलाई दबाब दिइरहेको छ।
‘हामीले दसैँअगाडि सरकार विस्तार गरौं भनेर मुख्यमन्त्रीजीलाई भनेका हौँ, तर उहाँ काठमाडौं जानुभयो,’ एमालेका प्रमुख सचेतक भण्डारीले गुनासो गरे, ‘हिजो उहाँलाई भेटेर छिटो सरकार विस्तार गर्न भनेका छौँ, तीनचार दिन पर्खौं भन्नुभएको छ, आइतबारसम्म विस्तार होला।’
केन्द्रीय गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई गठबन्धनलाई लिएर सरकार विस्तार गर्न सुझाव दिएको छ।
कोशी प्रदेश सभा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री अप्ठेरो अवस्थामा भएरै सहमतीय सरकारको कुरा उठाएको बताए।
‘सरकार बनाउन एमालेको भूमिका भयो, तर अब गठबन्धनलाई छोड्न सक्ने ठाउँमा उहाँ हुनुहुन्न,’ आङ्बोले भने, ‘सबैलाई समेटेर सरकार विस्तार गर्ने कोसिसमै हुनुहुन्छ। अहिले एमाले पनि छोड्न सक्नुहुन्न। गठबन्धनलाई बाहिर राखेर सरकार विस्तार गर्दाको जोखिम उहाँले देख्नुभएको छ।’
मुख्यमन्त्री कार्की शीर्ष नेतासँग संवादमै छन्।
माहोल बिग्रन नदिनको लागि उनले गठबन्धन र एमालेसँग निरन्तर छलफल गरिरहेका छन्।
विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउनकै लागि कुरेको उनको भनाई छ।
‘शीर्ष नेतासँग संवाद, समन्वय हुन्छ, तर निर्णय हामीले गर्ने हो,’ मुख्यमन्त्री कार्कीले भने, ‘सहमतीय सरकार नहुँदा विकल्प छँदै छ।’
नेताहरूका अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बन्दा एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति बनेको छ।
त्यति मात्र होइन, सरकारको नेतृत्व २–२ वर्षमा आलोपालो गर्ने समझदारी छ। यसकारण पनि एमालेले गठबन्धनलाई कोशी सरकारमा सहभागी गराउन चाहेको छैन।
एमाले प्रमुख सचेतक भण्डारीले विश्वासको मत लिने अघिल्लो दिन असोज ३० मा मन्त्रिमण्डलका विषयमा समझदारी गरेको बताए।
‘कांग्रेसलाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ५ मन्त्री दिने समझदारी बनेको छ,’ भण्डारीले भने, ‘हाम्रा तर्फबाट मन्त्रीको नामसमेत तय भइसकेको छ।’
एमालेले यसअघिका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका पालामा मन्त्री बनेकालाई हालको सरकारमा पठाउने तय गरेको छ।
जसमा पाँचकर्ण राई, तिलकुमार मेन्याङ्बो, बुद्धिकुमार राजभण्डारी, एकराज कार्की, लीलाबल्लभ अधिकारी छन्। यिनैमध्येबाट दोहोर्याउने निर्णय भएको भण्डारीले बताए।
तर, मुख्यमन्त्री कार्की भने कुनै खालको सहमति नबनेको दाबी गर्छन्।
Shares
प्रतिक्रिया