प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकता बचाउन सबै दल र पक्षको सहमतिमा टिकटक बन्द गर्ने निर्णय गरिएको जिकिर गरेका छन्।
नेपाल संवत्को नयाँ वर्ष सुरु भएका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लामो छलफल र सबै दलको सहमतिका आधारमा टिकटक बन्द गर्ने ेनिर्णय गरिएको दाबी गरेका हुन्।
‘समाजमा विसंगति विकृति अराजकता फैलाउने,राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्ति कसरी नियन्त्रण गर्ने भनेर लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष,प्रतिपक्ष सबैको सहमतिपछि अन्तर्राष्टियरुपमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता विकास गरेका छन् भन्ने पनि हेरेर सामाजिक सद्भाव,पारिवारिक एकता खलबल हुनबाट बचाउने उद्देश्यले निर्णय गरिएको हो’, उनले भने, ‘यसमा बहस हुँदै जाला, पक्ष-विपक्षमा कुरा आउलान्। तर सरकारको उद्देश्य समाजलाई विकृति, विसंगति र अराजकता फैलाउनेहरूबाट रोक्ने र नियमन गर्ने हो। रोक्न मिल्नेलाई रोक्ने, नियमन गर्न मिल्नेलाई नियमन गर्दै जाने हो।’
तर यसमा ‘केही साथीहरू’को चित्त नबुझेको उल्लेख गर्दै उनले यस विषयमा छलफल हुँदै जाने पनि बताएका छन्।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको हो।
तर यसप्रति सत्तारुढ दलकै कतिपय नेताले तीव्र विरोध गरिरहेका छन्, निर्णय फिर्ता लिन माग गरिरहेका छन्।
Shares
प्रतिक्रिया