आम चुनाव आउन अझै तीन वर्ष बाँकी नै छ। तर, नेकपा एमाले चुनावकै तयारीको झल्को दिने गरी देश दौडाहामा होमिँदै छ।
तुलनात्मक रूपमा संगठन कमजोर भएको क्षेत्रमा यसपटक एमालेले अभियान थाल्दै छ।
एमालेले सुदूरपश्चिमको झुलाघाट, बैतडीदेखि पूर्वको चिवाभञ्ज्याङ, पाँचथरसम्म झण्डै १९ सय किलोमिटर सडकमा शीर्ष तहका नेतालाई यात्रा गराउँदै छ।
एमालेले यस यात्रालाई ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको छ।
कार्यक्रम मङ्सिर १४ गते सुरु भएर २१ गते समापन हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।
यात्राको शुभारम्भ बैतडीको झुलाघाट पुलबाट अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलबाट गर्नेछन्।
त्यसका लागि उनी सकेसम्म १२ गते नभए १४ गते बिहान जाने स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
‘अध्यक्षज्यूलाई सिधै उहीँ पुग्ने व्यवस्था पनि मिलाइएको छ, गाडीमै स्पट–स्पटमा राखिएको कार्यक्रममा उहाँले सम्बोधन गर्नुहुन्छ,’ गौतमले नेपालखबरसँग भने, ‘संगठनलाई थप बलियो बनाउन, राष्ट्रिय एकताको सन्देश दिन यो अभियान गरिएको हो।’
तय गरिएको कार्यक्रम मध्यपहाडी लोकमार्गमा पर्छ, जससँग नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको नाम पनि जोडिएको छ।
गौतम भन्छन्, ‘अभियानको उद्देश्य बहुआयामिक छ। यसबाट एमालेको विचारको प्रचार पनि हुन्छ।’
अभियान टोली जहाँ पुग्छ, सोही जिल्ला र पालिका कमिटीले व्यवस्थापनको जिम्मेवारी लिएको गौतम छ। झुलाघाटदेखि चिवाभन्ज्याङ पुग्ने टोली डेढ सयभन्दा बढीको नहुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए। पार्टी अध्यक्ष र केही पदाधिकारी अभियानमा जोडिनेछन्।
‘जहाँ कार्यक्रम छ, त्यहीँको कमिटी खट्छ, यो सोही भूगोललाई क्रियाशील गर्ने कार्यक्रम हो,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘जनतासँग पार्टीका नेतालाई प्रत्यक्षरुपमा जोड्ने कार्यक्रमअन्तर्गत अहिले यो अभियान बनाइएको हो।’
‘जनतालाई आफ्ना कुरा सुनाउनैपर्छ,’ ज्ञवाली भन्छन्, ‘राजमार्गकेन्द्रित कार्यक्रम भएकाले आधुनिक सहर र तीव्र बसाइँसराइँ भइरहेको पहाडी बस्तीको अवस्था बुझ्ने कार्यक्रम पनि हो यो। एमालेले त्यस क्षेत्रको थप विकासमा साथ दिन्छ भन्ने सन्देश दिएर कार्यकर्ता परिचालन हुन्छन् भन्ने विश्वास छ।’
यसअघि राखिएका कार्यक्रम सो क्षेत्रमा नपरेकाले अहिले पहिलो प्राथमिकता दिइएको उनको भनाइ छ।
हुन पनि यसअघि एमालेलगायतका दलले मेची–महाकाली अभियान प्रायः तराईको महेन्द्र (पूर्व-पश्चिम) राजमार्गमा गरेका थिए। त्यस हिसाबले एमाले यसपालि नयाँ रूटमा यात्रा गर्न लागेको हो।
यति मात्र होइन, पिछडिएको क्षेत्र सुदूरपश्चिमबाट कार्यक्रम उद्घाटन गर्ने र पूरै देश जोड्ने भएकाले यो अर्थपूर्ण रहेको एमाले नेताहरूको भनाइ छ।
‘दिनमा एक–दुईवटा आमसभाको कार्यक्रम राखिएको होला, नत्रछोटा कार्यक्रम मात्र हुन्छन्,’ उपाध्यक्ष ज्ञवालीले थपे, ‘औसतमा दैनिक डेढ सय किलोमिटर यात्रा हुन्छ। त्यसमा हिँड्ने कार्यक्रम खासै हुँदैन।’
एउटा जिल्लाको कार्यक्रममा १० हजार बढी सहभागी हुने नेताहरूको भनाइ छ।
अभियानका क्रममा क्याम्पस तथा विद्यालयका विद्यार्थीसँग छलफल, किसान र कृषि वैज्ञानिकहरूसँग संवाद पनि राखिएको छ।
पहाड जैविक विविधता, कृषि, पशुपालन र जलस्रोत अनि सांस्कृतिक विविधताका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण भए पनि यस भूभागबाट बसाइँसराइँ गर्ने जुन विरोधास छ, त्यसको वास्तविकता बोध गर्ने लक्ष्य पनि राखिएको छ।
स्वास्थ्य टिम परिचालन
यात्राका क्रममा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई विशेष ख्याल गरिएको छ।
उनको साथमा श्रीमती राधिका हुनेछिन्। त्यसबाहेक सुरक्षाकर्मीको टिमसँगै स्वास्थ्यकर्मीको समूह पनि सँगै हुनेछ।
ज्ञवाली भन्छन् ‘यात्रामा सहभागीहरूलाई स्वास्थ्यमा कुनै समस्या परिहालेको अवस्थामा तत्काल औषधि उपचार गर्न स्वास्थ्य टोली खटाइनेछ।’
जिल्लातिर नेताहरू
अभियानमा सहभागी हुन नेताहरू जिल्ला पुग्न थालिसकेका छन्।
प्रचार विभाग प्रमुख गौतमले आइतबार नै सो क्षेत्रतिर लागेको बताए।
जिल्ला कमिटीदेखि पालिका कमिटी, वडा कमिटी, जनवर्गीय संगठन कार्यक्रममा जनताको सहभागिता जुटाउन खटिएका छन्।
यस्तै, व्यवस्थापन पक्ष मिलाउन विषयगत समिति गठन गरिएको छ।
ओलीको कार्यक्रम
झुलाघाटमा महाकाली नदीको पुलपारि भारत र वारि पर्छ। अहिलेसम्म तय भएको कार्यक्रममा कुनै फेरबदल नभए १४ गते बुधबार बिहान ८ बजे ओलीले अभियान थालेको घोषणा गर्नेछन्।
त्रिपुरा सुन्दरी मन्दिरको दर्शन गरेर ओलीले सहिद दशरथ चन्दको सालिकमा माल्यार्पण गर्नेछन्।
बिहान ११ बजे सदरमुकाम गोठलापानीमा राखिएको आमसभा सम्बोधन गर्नेछन्। अनि फेरि यात्रा अघि बढ्नेछ ।
साँझ खोड्पेमा बझाङका नेता–कार्यकतासँगको भेटघाट तय गरिएको छ।
मध्यपहाडी लोकमार्गको सुरुआत भएकाले बैतडी रोजिएको प्रचार विभाग प्रमुख गौतम बताउँछन्।
किन अभियान?
२००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हो। पुष्पलाल श्रेष्ठलगायत नेताले पार्टी स्थापना गरेको ७५ वर्ष पुगेको अवसर पारेर एमालेले हीरक वर्षका रूपमा मनाउन लागेको बताएको छ।
पुष्पलालकै नाममा निर्माणाधीन लोकमार्गमा एमालेले कार्यक्रम राखेको छ।
‘एमाले जनआधारित पार्टी भएकाले जनता नै हाम्रा मार्गदर्शक हुन्, जनसमर्थन नै हाम्रो सामर्थ्य हो, अभियानमा हुने जनसंवादमार्फत् हामी जनताका कुरा सुन्नेछौं, सुझाव लिनेछौँ,’ उपाध्यक्ष ज्ञवालीले भने।
Shares
प्रतिक्रिया