ad ad

राजनीति


चिवाभञ्ज्याङबाट ओलीले भने : देशका चुनौतीको सामना एमालेले मात्रै गर्न सक्छ

चिवाभञ्ज्याङबाट ओलीले भने : देशका चुनौतीको सामना एमालेले मात्रै गर्न सक्छ

चिवाभञ्ज्याङमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : सुमन ढुंगाना


नेपालखबर
पुस १, २०८० आइतबार १५:४९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धका लागि संकल्प यात्रा राजनीति प्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको बताएका छन्। 

मंसिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार दिउँसो पाँचथरको चिवाभञ्ज्याङमा नेपालको झण्डोत्तोलन गरेर समापन गर्दै ओलीले एमालेको यो अभियानले अन्य पार्टीमासमेत प्रभाव पारेको दाबी गरे।

अभियानको क्रममा मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको ओलीले बताए।

यसले वैचारिक र सूचनाका हिसाबले पार्टीलाई थप मजबुत बनाएको ओलीले बताए। ओलीले मध्यपहाड विकासको योजना बनाउन यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ओलीले यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको ओलीले दाबी गरे। ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ’, उनले भने। 

ओलीले अहिले देशको राजनीति अहिले अन्यौलतर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरे। गठबन्धन सरकारको कारण देशको अवस्था ओरालो लागेको उनको भनाइ छ।

‘देशको राजनीति अलमलमा छ,  देशको समय, जनताको आयु, पिँढीको समय खेर गएको छ’, ओलीले भने।  

देशका सामु अहिले धेरै चुनौती रहेको बताउँदै ओलीले एमालेले मात्रै चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको दाबी गरे।

‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्वोपरि ठान्ने आमजनताको मनोबल उच्च बनाएको छ’, ओलीले भने। 

अध्यक्ष ओलीले सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा संकल्प यात्राले दिएको बताए। नेपाली समाजलाई एकताको डोरीमा बाँधेर मात्र देशमा समृद्धि कायम गर्न सकिनेमा उनले जोड दिए।

मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराई सुरु गरेको अभियान आज पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन गरेका हुन्। 

नेपालको इतिहासमाै दलको तर्फबाट आयोजित यति लामो यात्राको नेतृत्व सुरुको बिन्दु बैतडीस्थित महाकाली किनार झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म पार्टी ओलीले नै गरे। यात्राको क्रममा मध्यपहाडका अधिकांश जिल्लामा टोली पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .