माघ ११ मा हुने राष्ट्रिय सभा चुनावमा सत्तारुढ दलहरुसँग मिल्ने प्रस्ताव गरेको नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठकले भने रिक्त हुने सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको छ।
यद्यपि, उम्मेदवारको टुंगो पुस २३ गते मात्र गर्ने भएको छ।
अहिलेको सत्ता गठबन्धनसँग राष्ट्रिय सभाका रिक्त हुने सबै सिट जित्ने प्रष्ट मतभार छ। यदि एमालेले सबै सिटमा उम्मेदवारी दिए नतिजा उसको पक्षमा आउने देखिँदैन।
तैपनि एमालेले किन यस्तो निर्णय गर्यो त?
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा राष्ट्रिय सभामा कम्तीमा ६ सिट दिनुपर्ने प्रस्ताव राखेका थिए। एमालेका ८ सांसदको पदावधि सकिँदैछ।
ओलीको प्रस्ताव बुधबार र बिहीबार बसेको गठबन्धनका चार दलको बैठकमा राखियो।
कांग्रेस र माओवादी एमालेलाई पनि समेटेर राष्ट्रिय सभामा खाली नगराउने पक्षमा उभिए पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाए।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र राईका अनुसार अध्यक्ष नेपाल आक्रोशित भएर सोधेका थिए– एमालेलाई सिट दिनुपर्ने त्यस्तो के पर्यो? उसले टीआरसी पास गर्छ भन्ने विश्वासिलो आधार के छ?
गठबन्धनमै सर्वसम्मत हुन नसकेपछि एमालेलाई राष्ट्रिय सभामा केही सिट दिएर समेट्ने निर्णय गर्न सकेन।
बैठकले एमालेको माग बढी भएको निष्कर्ष निकाल्दै लचिलो हुन सुझायो। किनकि गठबन्धनका दलहरुले रिक्त हुने सिट लिएर बाँकी एमालेकै ८ सिट भागबण्डा गर्ने निर्णय गरिसकेका छन्।
तर, त्यसमा केही सिट दिन सत्तारुढ दुई दल सकारात्मक छन्। कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एमालेलाई २÷३ सिट जिताएर राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिन चाहेको बताए।
‘एमालेलाई पनि राष्ट्रिय सभामा केही सिट दिएर जान प्रधानमन्त्री र हामी तयार भएकै हो। तर, गठबन्धनमा उपेन्द्रजी र माधवकुमार नेपाल मान्नुभएको छैन,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘त्यसमाथि एमालेको ६ सिटको माग बढी भयो।’
‘कि उहाँहरुले बढी सिट मागेर नमिल्ने रणनीति लिएको हुनुपर्छ। नत्र डिमान्डमा साइज डाउन नगरे एमालेसँग मिल्न गाह्रो छ,’ उनले थपे।
एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख र प्रवक्ता जगन्नाथ खतिवडा एमालेकै कारण निर्णय हुन नसकेको बताउँछन्।
‘एमालेले प्रतिपक्षीको गरिमा घटाउनेगरी सत्तापक्षसँग सिट माग्दैछ, यो लाज लाग्नुपर्ने विषय हो,’ खतिवडाले नेपालखबरसँग भने, ‘एमालेले सुँड पसारेकै कारण गठबन्धनले सिट बाँडफाँट गर्न ढिलाइ भयो।’
एमालेलाई दिने सिटबारे गठबन्धनले ठोस निर्णय नगरे पनि उसको मागभन्दा आधा कम सिट मात्र दिन तयार देखिएको छ। राष्ट्रिय मुद्दामा सहमति गर्ने सर्तमा बढीमा २ देखि ३ सिट दिन गठबन्धन तयार भएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दाबी गरे।
‘एमालेलाई २ सिट दिएर गठबन्धनमै मिसाएर जान कांग्रेस लचिलो छ,’ उनले भने।
तर, एमालेले शुक्रबार बसेको सचिवालय बैठकबाट १९ सिटमै उम्मेदवारी दिन सकिने बताएको छ।
गठबन्धनबाट भनेजति सिट नपाउने भएपछि एमालेले दबाब दिने रणनीति लिएको नेताहरु बताउँछन्।
माओवादीका महासचिव देव गुरुङ भन्छन्– ‘एमालेकै प्रस्ताव हो, उहाँहरु नै पछि हटेपछि हाम्रो जवाफदेहिता रहेन।’
एकीकृत समाजवादी र जसपा असन्तुष्ट भइरहेका बेला गठबन्धनमा समस्या पर्नेगरी कुनै निर्णय नगर्ने विश्वकर्माले बताए।
‘एमालेले बार्गेनिङ मात्र गरेको हो भने हामी गठबन्धन भत्किनेगरी कुनै निर्णय गर्दैनौँ,’ विश्वकर्माले थपे।
एमालेको चातुर्य
राष्ट्रिय सभाको चुनावमा उम्मेदवारी लगायत विषयमा निर्णय गर्न शुक्रबार दिउँसो एमालेको सचिवालय बैठक बस्यो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बालकोट निवासमा भेटेर ओली पार्टी कार्यालय च्यासल पुगेका थिए।
झण्डै चार घण्टा बसेको बैठकमा अन्य निर्णय भए पनि एमालेले राष्ट्रिय सभाको निर्वाचनका विषयमा ठोस निर्णय गरेको छैन।
६ वर्षे कार्यकाल पूरा भएका १९ सिटको लागि पुस २३ गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची छ।
‘मनोनयन गर्ने समय अझै बाँकी छ,’ एमालेका एक नेताले भने, ‘राष्ट्रिय सभामा सबै सिट गुम्ने अवस्थाबाट जोगिन विभिन्न उपाय अपनाइन्छ।’
गठबन्धन छलफलमा
एमालेलाई दिने दुईतीन सिट छुट्याएर बाँकी सिटको भागबण्डा गर्न छलफल भइरहेको विश्वकर्माले जानकारी दिए।
‘गठबन्धनका शीर्ष नेताहरु छलफलमै हुनुहुन्छ, त्यसबाहेक राष्ट्रिय सभाकै सिट बाँडफाँटका लागि महामन्त्री, प्रमुख सचेतक लगायतका निश्चित नेता जुटिरहनुभएको छ, आजै बेलुकासम्म सिट बाँडफाँट हुनसक्छ,’ उनले भने।
राष्ट्रिय सभामा एमालेलाई पनि समेट्न खोज्दा गठबन्धनले सिट बाँडफाँट गर्न सकेको छैन।
सोही कारण एकीकृत समाजवादीको शुक्रबारका लागि बोलाएको सचिवालय बैठक स्थगित गरेर शनिबार पुर्याइएको छ।
कांग्रेसको कार्यसम्पादन समिति र माओवादी केन्द्रको पदाधिकारी बैठक पनि शनिबार नै बस्दैछ।
Shares
प्रतिक्रिया