राष्ट्रिय सभाका १९ सदस्य चयन गर्न आगामी माघ ११ गते हुने चुनावका लागि निर्वाचन आयोगले आज (पुस २२ गते) मतदाताहरूको अन्तिम नामावली प्रकाशन गर्दै छ।
आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २ हजार ४७ जना मतदाता छन्।
गत पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा सार्वजनिक मतदाता नामावलीमा कोही छुटेको भए समावेश गर्न, कुनै मतदाताको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन भनिएको थियो।
ती सबै प्रक्रिया पूरा गरेर निर्वाचन आयोगले आज (आइतबार) अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको हो।
राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ। तीमध्ये १९ जना चुनावबाट चुनिनेछन् भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।
राष्ट्रिय सभामा पद खाली हुनुभन्दा एक महिनाअगावै निर्वाचन गरी पदपूर्ति गर्ने कानुनी व्यवस्था छ।
उक्त चुनावका लागि भोलि (पुस २३ गते) सातै प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम छ।
यी हुन् फागुन २० गते बिदा हुने २० सदस्य
आगामी फागुन २० गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ। जसमा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका १ र एक जना स्वतन्त्र निर्वाचित सदस्य छन्।
जसअनुसार एमालेका गणेशप्रसाद तिमिल्सिना (अध्यक्ष) दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दिलकुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल हुन्।
यस्तै फागुन २० गते नेपाली कांग्रेसका अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी) पनि राष्ट्रिय सभा सदस्य पदबाट बिदा हुँदै छन्।
यसैगरी नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) को कार्यकाल सकिँदै छ।
यस्तै एकीकृत समाजवादीबाट नन्दा चपाईं (कर्णाली) र सिंगबहादुर विश्वकर्मा (बागमती) को कार्यकाल पनि फागुन २० मा सकिँदै छ।
यसैगरी जनता समाजवादी पार्टी (जसपा) की प्रमिला कुमारी (मधेश प्रदेश) र बागमती प्रदेशबाट स्वतन्त्र रूपमा निर्वाचित खिमलाल देवकोटाको कार्यकाल पनि सकिँदै छ।
राष्ट्रिय सभाका कूल ५९ सदस्यमध्ये गोला प्रथाबाट एकतिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एकतिहाइको ४ वर्ष र बाँकी एकतिहाइ सदस्यको २ वर्ष कार्यकाल निर्धारण गरिएको थियो। फागुन २० गते ६ वर्षेवाला २० सदस्यको कार्यकाल पूरा हुने भएको हो।
Shares
प्रतिक्रिया