परराष्ट्रमन्त्री एनपी साउदले नेपाल कुनै पनि शक्ति राष्ट्रको सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन्। उनले ती सैन्य गठबन्धनको हिस्सा हुन कहिल्यै स्वीकार नगर्ने पनि बताएका छन्।
युगाण्डाको काम्पालामा जारी असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई बुधबार सम्बोधन गर्दै मन्त्री साउदले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा साउदले नेपालले कुनै पनि देशको सुरक्षा सम्झौता स्वीकार नगर्ने बताएका छन्। ‘हामी सधैँ स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौं’, उनले भने।
परराष्ट्रमन्त्री साउदले नाम एक स्वतन्त्र र शक्तिशाली राजनीतिक आवाज बनेको पनि बताएका छन्।
‘आज हाम्रो झण्डै सात दशकको यात्राका क्रममा हामी साझा मूल्यहरूबारे सचेत छौँ’, उनले भने, ‘जसले हामीलाई राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आत्मनिर्णय, आपसी सम्मान र लाभ, अहस्तक्षेप, हाम्रोमा शान्ति, सद्भाव, समानता, मर्यादा र न्यायको खोजी अन्तर्राष्ट्रिय सम्बन्धमा एकसाथ छौँ।’
मन्त्री साउदले बहुपक्षीयता प्रबर्द्धनमा नामले निर्णायक भूमिका खेल्नुपर्नेसमेत बताएका छन्।
‘शान्तिपूर्ण खोज्दै, संयुक्त राष्ट्र संघीय बडापत्र र अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्दै विवादहरूको समाधान, विश्वव्यापी वित्तीय संरचना सुधार, साझा समृद्धिको लागि एक मात्रै विश्वव्यापी आर्थिक व्यवस्था सिर्जना गर्दै नामले भूमिका खेल्नुपर्छ’, उनले अगाडि भने।
Shares
प्रतिक्रिया