नारायणगढ-बुटवल सडकखण्ड निर्माणमा भएको ढिलाइलाई लिएर खबरदारी यात्रा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यसलाई निरन्तरता दिने भएको छ।
भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक यात्रालाई रास्वपाले निरन्तरता दिने भएको हो।
त्यस्ता आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न एक कार्यदल गठन गरिएको रास्वपाले बुधबार जनाएको छ।
कार्यदलमा श्रीराम न्यौपाने, शिशिर खनाल, विपिनकुमार आचार्य, कृष्ण भेटेवाल, प्रतिभा रावल र खुश्वु श्रेष्ठ छन्।
रास्वपाले अबको चरणमा चितवनको भरतपुरबाट पुलचोक–गोन्द्राङ सडकसहित अन्य २७ विकास आयोजना अघि बढाउन दबाब यात्रा गर्ने तयारी गरेको हो। ती सबै आयोजनालाई सम्भावित सूचीमा राखेर रास्वपाले कार्यक्रम ल्याएको हो।
रास्वपाले आफ्नो अभियानअन्तर्गत मिसन–८० मा विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी अभियान थालेक प्रवक्ता मुकुल ढकालले बताए।
अभियानको सुरुवातमा नारायणगढ–बुटवल दबाब यात्रा सकिएको छ। बैठकले उक्त अभियानलाई निरन्तरता दिने निर्णय गर्दै थप २७ आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निष्कर्ष निकालेको हो।
प्रारम्भिक चरणमा १७ आयोजनालाई प्राथमिकताको सूचीमा राखिएको ढकालले बताए। अन्य आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारूप र मितिसमेत प्रस्ताव गर्न कार्यदल गठन गर्ने ढकालले जानकारी दिएका छन्।
Shares
प्रतिक्रिया