ad ad

राजनीति


जागिर खाने नाममा जहाँ पायो त्यहीँ नजानुस् : प्रधानमन्त्री

जागिर खाने नाममा जहाँ पायो त्यहीँ नजानुस् : प्रधानमन्त्री

नेपालखबर
माघ ७, २०८० आइतबार १०:५९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्न आग्रह गरेका छन्।

तीन दिने युगाण्डा भ्रमण सकेर आइतबार बिहान स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रुस, युक्रेन जस्ता ठाउँमा नेपालीहरू सेनामा भर्ती भएको जानकारी प्राप्त भएको र जागिर खाने नाममा जहाँ पायो त्यहीँ नजान भनेका हुन्।

राज्यको नीति, संविधानको मर्म तथा लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरीत सेनामा भर्ती नहुन उनले आग्रह गरेका छन्।

‘रुस वा युक्रेनमा त्यहाँको लडाईंमा नेपालीहरु रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ। विगतमा सम्झौता भएका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति छैन,’ दाहालले भने, ‘जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीति, संविधानको मर्म र हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरीत भर्ती हुन जाने अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ।’

रुसलाई युगाण्डा भ्रमणका क्रममा नेपाली युवा सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फर्काइदिन आग्रह गरिएको दाहालले बताए। यद्यपि राज्यको नीति विपरीत गएको हुनाले भन्नेबित्तिकै रुसले मानिहाल्ने अवस्था नहुने दाहाल बताउँछन्।

‘सरकारले पठाएको पनि होइन। सरकारले भन्नेबित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन,’ दाहालले भने।

युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रको १९औँ शिखर सम्मेलनमा भाग लिई प्रधानमन्त्री दाहाल आइतबार बिहान स्वदेश फर्किएका हुन्।

दाहाल माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका थिए। सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

साथै, अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्‍याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .