ad ad

राजनीति


राष्ट्रिय सभा निर्वाचन : कोसीमा एमाले र राप्रपाबीच तालमेल

सत्ता गठबन्धनका नेता भन्छन् : हामीलाई तनाव छैन
राष्ट्रिय सभा निर्वाचन : कोसीमा एमाले र राप्रपाबीच तालमेल

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०८० सोमबार १६:५९, काठमाडौँ

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभा चुनावमा तालमेल गरेका छन्।

यी दुई दलले कोसी प्रदेश सभाको दुई सिटमा सोमबार तालमेल गर्ने निर्णय गरेका हुन्।

दुई दलबीच कोसीको अन्यमा राप्रपाका उम्मेदवार उद्धव पौडेल र महिलामा एमालेकी रुक्मिणी कोइरालालाई जिताउने सहमति भएको छ।

आगामी माघ ११ गते हुन लागेको चुनावको सोमबार मध्यरातीदेखि मौन अवधि सुरु हुनेछ। मंगलबारदेखि प्रचार प्रसार गर्न नपाइने भएकोले सोमबार नै दुई दलले लिखित सम्झौता गरेका छन्। 

सहमतिसँगै एमालेले अन्यमा उम्मेदवार बनाएका परशुराम अधिकारीको उम्मेदवारी निस्क्रिय हुनेछ। यद्यपि, उम्मेदवारको सूचीमा उनको नाम कायमै रहन्छ। राप्रपाले महिलातर्फ उम्मेदवारी दिएको थिएन।

सत्ता गठबन्धनका तर्फबाट अन्यमा कांग्रेस नेता कृष्ण सिटौला र महिलामा चम्पादेवी कार्की उम्मेदवार छन्।

कोसीमा एमाले राप्रपाबीच गठबन्धनबनेपछि चुनाव रोचक बन्ने देखिएको छ। 

प्रदेश सभामा एमालेका ४० सांसद छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख ११२ छन्। जसको कूल मतभार ४२४८ हुन्छ। 

यसैगरी प्रदेश सभामा राप्रपाका  ६ जना सांसद् छन्। स्थानीय तहका प्रमुख-उपप्रमुख ४ जनाको कूल मतभार ३९४ छ। 

गठबन्धनमा कांग्रेसका प्रदेश सांसद २९ जना छन्। यस्तै, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जनता समाजवादी पार्टी (जसपा) का १ सांसद छन्।

स्थानीय तहमा कांग्रेसका ११३, माओवादी ३१, एकीकृत समाजवादी ७ र जसपाका ४ जना छन्। 

गठबन्धनको कूल मतभार ५४३६ छ। एमाले-राप्रपा गठबन्धनपछि ४ हजार ६ सय ४२ मतभार पुग्छ।

गठबन्धनलाई छैन चुनौती
एमाले र राप्रपा मिल्दा पनि सत्ता गठबन्धन चुनाव जित्नेमा निर्धक्क देखिन्छ। 

कोसी प्रदेशका माओवादी नेता इन्द्र आङ्बोले एमाले–राप्रपा तालमेल पूर्वअनुमानित भएको बताए। 

‘एमाले–राप्रपा तालमेल हुँदा पनि गठबन्धन सुविधाजनक अवस्थामा छ,’ आङ्बोले नेपालखबरसँग भने, ‘यो नेताहरूले मतदान गर्ने चुनाव भएकोले गठबन्धनको जित सुनिश्चित छ, गठबन्धनले कुनै दबाब लिएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .