युद्ध छाडेर शान्ति प्रक्रियामा आइसकेपछि नेकपा माओवादी केन्द्र निरन्तरजसो सरकारमा छ। पार्टीका थुप्रै नेताले धेरैपटक लाभको पदमा बस्ने अवसर पाइसकेका छन्।
थुप्रै नेता दोहोर्याई तेहर्याई सांसद, मन्त्रीजस्ता पद पाए। आर्थिक फड्को गरेका र पार्टीमा हालिमुहाली गरेकाहरू कम छैनन्।
तर, माओवादीमा कुनै लाभको पद नलिने नेता पनि छन् र तिनैमध्येका एक हुन् श्रीकृष्ण अधिकारी।
कम्युनिष्ट राजनीति थालेको ३८ वर्षपछि पहिलोपटक उनी राज्यको पदमा पुगेका छन्। बिहीबार सम्पन्न राष्ट्रिय सभा चुनावमा उनी बागमती प्रदेशको अपांग कोटाबाट निर्वाचित भएका छन्।
लामो समय पार्टीलाई योगदान गरेका अधिकारी ६ वर्षे कार्यकालका लागि स्थायी सदनमा पुगेकामा नुवाकोटका माओवादी नेता–कार्यकर्ता खुसी छन्।
नुवाकोटमा उनलाई धेरैले जिउँदा सहिद भनेर पनि चिन्छन्।
अधिकारीको राजनीतिक यात्रा
०४० को दशकदेखि तत्कालीन नेकपा मशाल (मोटो) बाट कम्युनिस्ट राजनीति थालेका अधिकारीले सुरुवातमा मजदुर मोर्चामा रहेर काम गरे। त्यसयता उनी निरन्तर आन्दोलन र पार्टीमा छन्।
पार्टीले जिम्मेवारी तलमाथि गर्दा गुनासो नगर्ने थोरै नेतामध्येमा श्रीकृष्ण अधिकारीको नाम आउँछ।
राजनीतिको सुरुवातमै पञ्चायती व्यवस्थाविरोधी आन्दोलन गर्नुपर्ने भएकाले उनी भूमिगत बने र जनतालाई जागरुक गराउन खटिए।
‘पञ्चायतविरोधी आन्दोलनमा मजदुरलाई संगठित गरेर उठाउन उहाँको भूमिका महत्त्वपूर्ण थियो,’ उनका समकक्षी पुष्प लामिछानेले भने, ‘०४६ सालको जनआन्दोलनमा थुप्रै मानिसलाई सडकमा उतार्नुभयो।’
०४७ सालमा नेकपा एकता केन्द्रको जिल्ला कमिटी सदस्य चुनिएका अधिकारी ०५० मा जिल्ला सचिव बने।
२०५१ फागुन १ मा नेकपा माओवादीले जनयुद्ध सुरुवात गर्यो। जनयुद्धको तयारी योजनामा उनलाई पूर्व सरुवा गरियो। उनले रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा काम गरे।
‘त्यसबेला जनयुद्धको घनीभूत विकास गर्न विचारसहितको नेता आवश्यक थियो,’ लामिछानेले अधिकारीको जनयुद्ध सहभागीबारे भने, ‘फौजी हिसाबले नेतृत्वदायी भूमिका खेल्न सक्ने भएर उहाँ (श्रीकृष्ण) लाई पूर्वमा खटाइएको थियो। उहाँले राम्रो क्षमता प्रदर्शन गर्नुभयो।’
‘उहाँ सहायक कमान्डर रहेको फौजी टोलीले २०५३ पुस १९ गते रामेछापको बेथान प्रहरी चौकीमाथि आक्रमण गर्यो, उहाँ घाइते हुनुभयो। आँखा गुम्यो,’ लामिछानेले थपे।
युद्धकै बेला अधिकारीले लजिस्टिक विभाग, दक्षिण एसिया हेर्ने प्रवास विभागमा रहेर काम गरे।
‘आँखा गुमेपनि उहाँको सक्रियतामा कमी आएन, झन् सक्रिय हुनुभयो, २०४२ सालदेखि आजसम्म निरन्तता टुटेको छैन, अहिले पनि उहाँ पूर्णकालीन हुनुहुन्छ,’ लामिछाने भन्छन्।
जनयुद्धका क्रममा रोल्पा, रुकुमसहितको पश्चिम कमान्ड, गण्डक कमान्डमा रहेर उनले पार्टीले दिएको जिम्मेवारी पूरा गरे।
यस्तै, केन्द्रीय कार्यालय, ब्युरो कार्यालय, राज्य कार्यालय तथा केन्द्रीय विभागकै कार्यालय सचिव बनेर समेत काम गरेका छन्।
हाल उपत्यकामा बस्ने नेता÷कार्यकर्तालाई समेटेर बनाइएको सम्पर्क समन्वय विभागमा रहेर उनले काम गरिरहेका छन्। उनले औपचारिक शिक्षा लिएका छैनन्। उनी साक्षर मात्र हुन्। माओवादीका नेताहरू उनको स्वाध्ययन राम्रो रहेको बताउँछन्।
हेडक्वार्टरका विश्वासपात्र
अधिकारीले जनयुद्धका सुरुवाती दिनदेखि अहिलेसम्म माओवादी नेतृत्वको विश्वासपात्र भएर काम गरे।
शान्ति प्रक्रियापछि पनि उनी प्रचण्डका विश्वासपात्र मानिन्छन्।
माओवादीमा टुटफुट हुँदा उनी कतै लागेनन्। निरन्तर प्रचण्डलाई साथ दिए।
‘हेडक्वार्टरको लाइनबाट दायाँबायाँ जानुभएन,’ उनका भाइ उपेन्द्र अधिकारीले नेपालखबरसँग भने, ‘कहिले पनि पद नपाएर गुनासो गर्नुभएन, असन्तुष्ट बन्नुभएन। उहाँ आफ्नो कार्यक्षमताले नेता बन्नुभएको हो। उहाँले निरन्तर कर्म गरिरहनुभएको छ।’
Shares
प्रतिक्रिया