आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्ने सांसदहरूको अन्तिम सूचीमा थियो, रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको नाम।
विमानस्थलको अध्यागमनमा देखिएको समस्या, मानव तस्करी र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने एजेन्डा थियो।
उक्त छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, गृह सचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सुरक्षा निकायका प्रमुख उपस्थित थिए।
छलफलमा सबै सांसदले आफ्ना कुरा राखिसकेपछि अन्तिममा मात्रै लामिछाने बोल्न थाले। टेलिभिजन प्रस्तोताका रूपमा ‘सिधा कुरा’ गर्दागर्दै राजनीतिमा आएका लामिछाने समितिमा पनि आइतबार सोही शैलीमा प्रस्तुत भए।
उनले समितिका सभापति रामहरि खतिवडासँग समय माग्दै आफू प्रश्न सोध्दै जाने र जवाफ पनि तत्काल दिनुपर्ने सर्त अघि सारे।
तर, सभापति खतिवडाले बीचमै रोकेर उनलाई प्रश्न मात्रै गर्न आग्रह गरे। त्यसपछि उनले आफ्ना प्रश्न राखे, जसको गृहमन्त्री श्रेष्ठ र सचिव भट्टराईले गोलमोटल जवाफ दिएका थिए।
समग्रमा उनले समितिसमक्ष एक दर्जन प्रश्न राखेका थिए।
यस्तो छ समितिमा रविका प्रश्न र जवाफः
१) रविः सेटिङ गरेर भिजिट भिसामा पठाउने अध्यागमन अधिकृतको पक्राउपछि सरुवा भएको भन्ने आएको छ, त्यसरी पक्राउ परेको हो कि होइन?
गृहसचिवः सरुवा भएको छैन।
२) रविः ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास पौडेल, पीताम्बर रिमाल, सुजन फागो। यी नामहरू चिन्नुहुन्छ?
महानिरीक्षकः नामबाट भन्न सकिएन।
३) रविः यी नाम पक्राउ परेका अध्यागमन अधिकृतले पोलेका नामहरू हुन्। यी सरकारी कर्मचारी हुन्। अहिले प्रहरीको कागजमा चाहिँ फरार भनिएको छ। सरकारी कर्मचारी कसरी फरार हुन सक्छन्?
४) रविः विमानस्थलका डीआईजीको राजीनामा आएको हो कि होइन?
महानिरीक्षकः उहाँको राजीनामा आएको हो। त्यो दिनुपर्ने थिएन। उहाँको राजीनामाको कारणबारे आन्तरिक किसिमको कुरा भएको छ। उहाँ मेरो ब्याचमेट पनि हो। स्वाभाविक राजीनामा हो कि होइन भन्ने पनि आन्तरिक किसिमको बुझाइ छ। उहाँ स्वतन्त्र हुनुहुन्छ। उहाँ अहिले बिदामा हुनुहुन्छ।
५) रविः अनि निलम्बितलाई पुरस्कृत गरिएको भन्ने पनि आएको छ नि?
महानिरीक्षकः यो विषयमा मिडियामा धेरै कुरा आएको छ। हामी छानबिन गर्दै छौँ। हामीसम्म यो कुरा आएको छैन। उपत्यका प्रहरी कार्यालयबाट हेर्न जाँदा त्यो देखिएको छैन। भेरिफाई हुन्छ।
६) रविः बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिनअघि हिरासतमा राखिएको देखियो। जग्गा हडप्दा चौधरीकै जति सेयर भएका अन्य साझेदारमध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको च्याम्पियन फुटवेयर पनि देखिएको छ। विनोद चौधरीलाई पनि थुन्नुपर्छ भन्या होइन। तर अनुसन्धानको दायरामा ल्याएर बयान लिन सकिन्थ्यो होला। त्यो लिइयो कि लिइएन? अनुसन्धानको दायरामा राखेर लिइयो कि लिइएन?
७) रविः राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकको वैयक्तिक तथा जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय मिडियामा आएको थियो। त्यो निर्णय कसको संलग्नतामा कसरी गरियो भन्ने पत्ता लगाउने समिति बनेको थियो। त्यसले रिपोर्ट बुझायो कि बुझाएन?
गृहसचिवः बुझाइसक्यो।
८) रविः किन सार्वजनिक नगरिएको? विदेशी कम्पनीलाई दिएर राष्ट्रघात गरेको न्यारेटिभ बनेको थियो। कुनचाहिँ विदेशी कम्पनी हो त्यो, जनताले थाहा पाउनुपरेन?
९) रविः नक्कली भुटानी शरणार्थीमा हाई–प्रोफाइल नेताहरू परेका थिए। दोस्रो चरणको अनुसन्धानमा केके भयो? यो किन अधुरै रह्यो?
१०) रविः पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाबारे केही पत्ता लाग्यो कि लागेन?
११) रविः सुरक्षा सल्लाहकार इन्द्रजित राईका फरार रहेका छोरा निरजबारे केही पत्ता लाग्यो कि लागेन?
१२) रविः मुद्दा चलिरहेका बिचौलियासँग नाम पोलेका बादलपत्नी नैनकला थापाबारे केही पत्ता लाग्यो?
यी धेरै प्रश्न अनुत्तरित नै रहे। रविका प्रश्न केवल संसदीय समितिमा अभिलिखित मात्र भए।
Shares
प्रतिक्रिया